देश जहाँ छोयो त्यहीँ फाटेको छ, बनाउन सजिलो छैन : मन्त्री किराँती

सफल खबर संवाददाता

सोमबार, १३ चैत्र २०७९, १६ : ०२
देश जहाँ छोयो त्यहीँ फाटेको छ, बनाउन सजिलो छैन : मन्त्री किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देश सोचे भन्दा फरक रहेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित ६२ औं रंगमञ्च दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन उनले देश जहाँ छोयो त्यहीँ नै फाटेको बताए ।

१० वर्ष सांसद भइसक्दा आफूले देशको बारेमा सबैकुरा बुझेको जस्तो अनुभव भए पनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको उनले बताए । आफू व्यक्तिको परीक्षामा भन्दा युगको परीक्षा चरणमा रहेकाले असफल हुने छुट नरहेको पनि उनले बताए ।

‘देश जहाँ छोयो, त्यहीँ फाटेको छ । बनाउन सजिलो छैन,’ उनले भने, ‘१० वर्ष सांसद भएर जति बुझेको थिएँ, बुझेजस्तो लाग्थ्यो, मन्त्री भएर कुर्सीमा आएर जे देखेँ, जे देख्दैछु, देश अर्कै रहेछ । अझै अर्को रहेछ । म बस्ने कुर्सी आगोको कुर्सी हो, मैले कुदाउने घोडा बाघको घोडा हो हात्तिको होइन । हामी युगको परीक्षा दिँदैछौँ । व्यक्तिको होइन । हामी फेल भयौँ भने युग फेल हुन्छ । व्यवस्था फेल हुन्छ । हामीले बरु विदेशको धेरै कुरा गरेका छौँ, स्वदेशको कुरा गरेनौँ । स्थानीय सोचहरुलाई प्राथमिकता दिएनौँ ।’

उनले १२ कक्षा पढेपछि नेपाली विद्यार्थीहरु विदेश जान्छन्, किन जान्छन् भन्दा रोजगारी छैन भनेर होला जस्तो लाग्ने गरेको तर यथार्थ अर्कै रहेको समेत बताए । ‘हामी त बेरोजगार भएर मात्रै विदेश गएका होइन रहेछौँ, सुखपूर्ण जीवन छोडेर पनि विदेश जानुको कारण हाम्रो शिक्षामा विष परेको छ । स्वदेशको सपना मरिसकेछ हाम्रो शिक्षा र संस्कृतिमा । शिक्षा र संस्कृतिमा हामीले स्वदेशी सपनाको मृत्यु हुने विष हालिसकेका रहेछौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस