मन्त्री भएपछि सोह्र श्राद्धको बाहुन जस्तो भएँ : मन्त्री किराँती

सफल खबर संवाददाता

सोमबार, १३ चैत्र २०७९, १२ : ३६
मन्त्री भएपछि सोह्र श्राद्धको बाहुन जस्तो भएँ : मन्त्री किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुन जस्तो भएको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सांसद हुँदा मन्त्री बनेपछि ठूलाठूला काम मात्रै गर्नुपर्ने र फुर्सद मिल्ने अनुमान गरेपनि मन्त्री बनेपछि झनै कामको चाप बढी हुने अनुभव गरिरहेको बताएका हुन् । 

उनले भने, ‘म यो देशमा १० वर्ष सांसद भएर बिताइसकेको छु । मलाई लाग्थ्यो सांसद हुँदाखेरि म धेरै सानो सानो काममा हिँड्थेँ । यतिसम्मकी मान्छेहरूको बसको टिकटमा समस्या समेत पुग्थेँ, अनि लाग्थ्यो मन्त्री भएँ भने फुर्सद हुन्छ होला । ठूलोठूलो काम गर्नुपर्छ, ठूलो काम थोरै हुन्छ, अलि फुर्सद हुन्छ होला जस्तो लाग्थ्यो । तर म मन्त्री भएको ६५ दिन हाराहारी हुँदैछ । लाग्छ म त सोह्रश्राद्धको बाहुन जस्तो भएँ । हतारहतार सिधा उठाएर हिँडिहाल्नुपर्ने । त्यसको निम्ति म क्षमाप्रार्थी छु । अन्तिमसम्म कार्यक्रममा बस्न सकिनँ ।’ 

मन्त्री किरातीले राजनीतिज्ञ र क्रान्तिकारीहरू अरूको तुलनामा झनै बढी प्रेमिल हुने बताए । उनले प्रेम गर्न नजान्नेले देश चलाउन पनि नजान्ने बताए । ‘मानिसको प्राचिन विधा गीत, संगीत हो । प्रेमगीत त आमाबाट सिर्जित भयो । राजनीतिज्ञ र क्रान्तिकारीहरू झनै धेरै प्रेमिल हुन्छ । जसले प्रेम गर्न जान्दैन, त्यसले त देश पनि चलाउन जान्दैन । तर गीत जस्तो जीवन हुँदैन । जीवन र गीतको व्यावहारिक तालमेल धेरै टाढा छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस