केन्द्रीय समिति बैठकले नीति अधिवेशनको मिति तोक्छ : महामन्त्री थापा

सफल खबर संवाददाता

सोमबार, १३ चैत्र २०७९, ०७ : ४३
केन्द्रीय समिति बैठकले नीति अधिवेशनको मिति तोक्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी केन्द्रीय कार्यसमिति बैठकबाट नीति अधिवेशनको मिति तोकिने बताएका छन् ।सामाजिक लोकतन्त्र अध्ययन केन्द्रद्वारा आयोजित जुम मिटिङमा महामन्त्री थापाले त्यसका लागि केन्द्रीय समिति बैठक बोलाउने तयारी भइरहेको बताए । उनले भने, 'जिल्ला, प्रदेश र पालिकास्तरमा वार्षिक सम्मेलन गरिने छ । त्यसपछि नीति अधिवेशन हुन्छ । नीति अधिवेशनका मिति र स्थान आगामी केन्द्रीय समिति बैठकबाट तय हुन्छ । अब केही दिनमा केन्द्रीय कार्यसमिति बैठक बस्छ ।'

उनका अनुसार महाधिवेशन प्रतिनिधि वा महासमिति सदस्यको सहभागितामा नीति अधिवेशन गर्ने भनेर बहस भइरहेको छ । 'सातै प्रदेशमा नीति अधिवेशन गरेर केन्द्रमा नीति अधिवेशन गराउने कि भनेर पनि छलफल भइरहेको छ,' थापाले भने ।

पार्टीको सबै तहलाई सुदृढ र व्यवस्थित बनाउन २०८० सालमा देशभरि घुम्ने आफ्नो योजना रहेको उनले सुनाए । 'यो एक वर्ष स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावमा व्यवस्त भइयो । त्यसमा पनि पार्टीभन्दा गठबन्धन बैठकमा बढी सहभागी हुनुपर्यो,' उनी भन्छन्, 'एक दुई दिनमा सरकारले पूर्णता पाउछ । हाम्रा सात आठ जना साथीहरु सरकारमा जानुहुन्छ । त्यसपछि हामी पुरा पार्टीको काममा लाग्छौं ।' 

आगामी केन्द्रीय कार्यसमिति बैठकअघि भ्रातृ संस्था र पार्टीका विभाग गठन गरिने महामन्त्री थापाले बताए । यस्तै क्रियाशील सदस्यता वितरणका प्रक्रिया थाल्न जिल्ला कार्यसमितिलाई परिपत्र गरिएको उनले बताए । जिल्ला कार्यसमितिले केन्द्रीय कार्यालय सानेपाबाट फारम लिन सक्ने उनको भनाइ छ । कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य संयोजनमा भएको जुम मिटिङमा सहभागीहरुले नीति अधिवेशनले कांग्रेसको एक दशको दिशा निर्देशन गराउने गरी छलफल थाल्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस