नेपाली फिल्मलाई चीनमा स्वागत गर्न चाहन्छौं : राजदूत सोङ

सफल खबर संवाददाता

शुक्रबार, ०३ चैत्र २०७९, १२ : २५
नेपाली फिल्मलाई चीनमा स्वागत गर्न चाहन्छौं : राजदूत सोङ

काठमाडौं । चीनले नेपाली फिल्मलाई स्वागत आफू तयार रहेको जनाएको छ । काठमाडौंमा सुरु भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को उद्घाटन समारोहमा बोल्दै चिनियाँ राजदूत छन सोङले आफ्नो मुलुकले धेरैभन्दा धेरै नेपाली फिल्मलाई आयात गर्न तयार रहेको बताए ।

राजदूत सोङले भने, ‘चीन धेरैभन्दा धेरै नेपाली फिल्म आयात गर्न चाहन्छ । मलाई लाग्छ, फिल्ममा चीन र नेपालको साझेदारीले दुई मुलुकका जनताको सम्बन्ध थप निकट र प्रगाढ बन्नेछ ।’ चिनियाँ बक्सअफिसमा यसवर्ष उच्च कमाइ गरेको ‘द वान्डरिङ अर्थ २’को उदाहरण दिँदै चीनले नेपालबाट यस्तै ब्लकबस्टर फिल्मको अपेक्षा गरेको बताए ।

‘चीन आधुनिक समाजवादी मुलुकको रुपमा अघि बढेको छ । विश्वकै विशाल र आकर्षक फिल्म बजार समेत हो । विश्वकै ठूलो बक्सअफिस पनि । वान्डरिङ अर्थजस्ता फिल्मले राम्रो कमाइ गरेका छन् । हामी नेपाली फिल्मलाई स्वागत गर्न चाहन्छौं’ उनले भने ।

फिल्म नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदान र मित्रताको पुल बन्नसक्ने उनले बताए । निफ नेपालको रोड फिल्म फेस्टिभलको पहिलो र एक्लो सदस्य भएको समेत राजदूतको भनाई छ । निफको प्रतिस्पर्धामा रहेका फिल्मलाई उनले शुभकामना समेत दिए । छैटौं निफमा बेइजिङ फिल्म एकेडेमेकी प्राध्यापक ली रान जुरी प्रमुख छिन् । उद्घाटन समारोहमा प्राध्यापक लीले नेपाल र चीनबीचको सम्बन्धमा फिल्म महत्वपूर्ण माध्यम बन्न सक्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस