संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने जनमोर्चाको निर्णय

सफल खबर संवाददाता

मंगलबार, ३० फागुन २०७९, ११ : १८
संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने जनमोर्चाको निर्णय

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताका विरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । सो पार्टीको फागुन २७ र २८ गते बुटवलमा सम्पन्न राष्ट्रिय परिषदको प्रथम बैठकले संघीयताका विरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो ।

बैठकपछि पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘ बैठकले सङ्घीयताकाविरुद्ध यही चैत्र १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । उक्त अभियान अन्तर्गत सभा, कोणसभाहरू गरिने छ । चैत्र २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा “गणतन्त्रको रक्षा गरौँ, प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौं” भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू गरिने छ ।’

बैठकले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय समेत गरेको छ । सो उपनिर्वाचनमा  पार्टीका केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको विज्ञप्तिमा जनाइएको छ । उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इशाईकरणका विरुद्ध भण्डाफोर अभियानका रूपमा उपयोग गर्ने निर्णय समेत बैठकले गरेको छ । साथै उपनिर्वाचनको प्रचारप्रसारलाई व्यवस्थित बनाउन महासचिव मनोज भट्टको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समिति समेत गठन गरिएको छ । 

चितवन–२ बाट मंसिर ४ को निर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता अवैध घोषित भएसँगै उनको पद गएको थियो । यससँगै निर्वाचन आयोगले  उपनिर्वाचन गर्ने गरी वैशाख १० गतेका लागि  निर्वाचनको मिति तोकेको छ ।

परिषद बैठकले बैशाख र जेष्ठ महिनामा देशव्यापी रूपमा पार्टीको जिल्ला सम्मेलन तथा भेला गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस