काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिक राष्ट्राध्यक्षको रुपमा देख्न चाहेको बताएका छन् । राष्ट्रपति पौडेललाई बधाई र शुभकामना ज्ञापन गर्दै महामन्त्री थापाले राष्ट्रपति संस्थाबारे संविधानले प्रष्ट व्यवस्था गरेको भन्दै राष्ट्रपति विगतको राजसंस्थाको निरन्तरता नभएको बताए ।
‘नेपालको संविधानले राष्ट्रपति पदलाई नेपालको राष्ट्राध्यक्ष भनेर परिभाषित गरेको छ, सँगै राष्ट्रपतिमा संविधानको पालना र संरक्षण गर्ने संवैधानिक अभिभारा पनि रहेको छ,’ थापाले भने, ‘नेपालको राष्ट्रपति, राजा वा राजसंस्थाको अधिकारलाई प्रतिस्थापन गरेर बनेको वा त्यो संस्थाको निरन्तरता होइन । यो संविधानको रक्षार्थ दृढ रहने एउटा नागरिक–राष्ट्राध्यक्षको चाहना हो । तपाईंलाई हामी राष्ट्रपति राजाजस्तो होइन, नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्न चाहन्छौं ।’
संविधानले ‘गल्ती नगर्ने राष्ट्रपति’को रुपमा दिशा निर्देशन गरेको महामन्त्री थापाको भनाइ छ । ‘हाम्रो संविधानको परिकल्पना ‘गल्ती नगर्ने राष्ट्रपति’ हो । किनभने राष्ट्रपतिले आफ्नो मनोमानिले केही पनि गर्दैन र गल्ती पनि गर्दैन,’ उनी भन्छन्, ‘संविधानको पालना, संरक्षण र प्रवर्द्धन गर्ने नाममा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिस वा सम्मतिमा कार्य गर्ने कुरा संविधानको मर्म हो ।’
उनले हरेक निर्णयको सिफारिस गर्ने सरकारले नै त्यसको जिम्मेवारी लिनुपर्ने मान्यता राखिएको बताए । ‘तपाईं हिजो राष्ट्रपतिको उम्मेदवार हुँदासम्म नेपाली कांग्रेसको सदस्य हुनुहुन्थ्यो, नेता हुनुहुन्थ्यो, एउटा राजनीतिक विचारसँग आवद्ध हुनुहुन्थ्यो, स्वभाविक रुपमा त्यसैप्रति तपाईंको लगाव र मिहिनेत थियो । तर, अब तपाईं मन, वचन र कर्मले योसँग अलग हुनुपर्छ, न नेपाली कांग्रेसप्रति न त हिजो तपाईंलाई मतदान गर्नेहरूप्रति कसैसँग पनि अतिरिक्त अनुराग रहनुहुँदैन,’ महामन्त्री थापाले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ फागुन २०७९, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफैँले हुँदैन भनेर गठबन्धनबाटै चुनाव लडेँ, गल्ती गरेकै हुँ: गगन थापा
‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउँछ’ : गगन थापा
पुनर्गठित कांग्रेस लिएर चुनावमा जाऔं : गगन थापा
यस्तो छ गगन थापाले केन्द्रीय समितिमा राखेको प्रस्ताव (पुर्णपाठ)
महाधिवेशनको कार्यतालिका पेस गर्दै गगन थापा, पुसभित्रमा महाधिवेशन गर्ने कार्यतालिका
छठका कार्यक्रममा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु : गगन थापा