उपराष्ट्रपतिबारे औपचारिक निर्णय भइसकेको छैन : उपसभापति खड्का

सफल खबर संवाददाता

शुक्रबार, २६ फागुन २०७९, १३ : ०९
उपराष्ट्रपतिबारे औपचारिक निर्णय भइसकेको छैन : उपसभापति खड्का

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भए पनि गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको बताएका छन् ।

शुक्रबार ललितपुरको बाँडेगाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर उनको शालिकको दर्शनपछि सञ्‍चारकर्मीसँग यस्तो बताएका हुन् ।  उनले अब छिटै नै गठबन्ध्नको बैठक बसेर औपचारिक निर्णय गर्ने बताए ।

उनले दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने बताए ।  ‘उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी, सहमति भएका छन् । प्रधानमन्त्रीजीले त्यसको संयोजन गर्नुहुनेछ। सम्बन्धित दल र नेताहरुको बैठक बोलाएर औपचारिक रुपमा निर्णयमा पुग्छौँ, ‘ उनले भने, ‘दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम आउनेछ। जसपालाई उपराष्ट्रपति दिनेकुरा ८ दलको बीचमा प्रवेश गरिसकेका छैन । त्यसैले ८ दलको बैठक बसेर औपचारिक निर्णय हुन्छ।’

उपसभापति खड्काले पदको लोभका कारण पुस १० गते कांग्रेससहितको गठबन्धन भत्किएको स्वीकार गरेका छन् । उनले नेपाललाई रुपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दलहरु मिलेर मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि बेगमा मुलुकलाई लैजाने संकल्प गरेर चुनाव गएपछि सहमति अनुसार कार्यान्वयन हुन नसक्दा तत्कालीन गठबन्धन भत्किएपनि आन्तरिक रुपमा सच्याएर अघि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस