तम्घासमा सडक बालबालिकाको समस्या जटिल बन्दै

सफल खबर संवाददाता

सोमबार, २२ फागुन २०७९, १५ : १६
तम्घासमा सडक बालबालिकाको समस्या जटिल बन्दै

रेसुङ्गा ।  एकीकृत व्यवस्थापन हुन नसक्दा जिल्लाको तम्घासमा सडक बालबालिकाको समस्या जटिल बन्दै गएको छ । सडक बालबालिकालाई शिक्षा, स्वास्थ्य, आवास र अभिभावकत्व दिने गरी आफ्नै पालिकामा व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ । गुल्मीमा भएका सडक बालबालिकाको पहिचान गरी तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयमा होस्टेल निर्माण गरिएको थियो । छ महिनाका लागि व्यवस्थापन गरेर सदरमुकामका विद्यालयले पढाउने जिम्मा लिए पनि बालबालिका पुनः सडकमै फर्किएका छन् । 

महेन्द्र मिनी होस्टेलमा सडक बालबालिका व्यवस्थापनको समयमा श्रेय लिनेको होडबाजी चलेको थियो । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बालबालिका राखिने होस्टेलमा फलफूल र मिठाई बाँड्नेको लस्कर हुन्थ्यो तर अहिले बालबालिका सडकमै फर्किपछि कोही त्यसको जिम्मा लिन तयार देखिँदैनन् ।

बालबालिका व्यवस्थापनका क्रममा महेन्द्र नमुना माध्यमिक विद्यालयमा सात जना, सिद्धबाबा माध्यमिक विद्यालयमा तीन जना, रेसुङ्गा माध्यमिक विद्यालयमा दुई जना, उपल्लो तम्घास माध्यमिक विद्यालयमा दुई जना र बालमन्दिरमा दुई जना सडक बालबालिका अध्ययनका लागि व्यवस्थापन गरिएको थियो । बाँकी दुई जना विद्यालय गएनन् । 

महेन्द्र मिनी होस्टेलको नाममा बालबालिका व्यवस्थापन गर्दा झन्डै रु १२ लाख खर्च भएको थियो । रेसुङ्गा नगरपालिकाको रु तीन लाख ५० हजार, मालिका गाउँपालिकाको रु तीन लाख, धुर्कोटको रु एक लाख ५० हजार, इस्माको एक लाख ५० हजार, मदानेको रु ५० हजार र शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीको रु एक लाख ७६ हजार गरी कूल ११ लाख ७६ हजार खर्च भएको छ । 

अभिभावकको गैरजिम्मेवारीपन, सरोकारवाला निकायको अल्पकालीन निर्णय र विद्यालयको कमजोरीका कारण विद्यार्थी बनेका बालबालिका फेरि सडकमा फर्किएका छन् । अल्पकालीन व्यवस्थापन गरेर श्रेय लिनेको होडबाजी चले पनि सम्बन्धित पालिकामै नयाँ कार्यक्रम ल्याएर दीर्घकालीन समाधान खोज्नुपर्नेमा नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डे जोड दिन्छन् ।

दिनभर तम्घास बजारमा डुलेर मागेको पैसाले कतिपय सडक बालबालिकाले घरखर्चसमेत चलाउने गरेका छन् । उनीहरु दिनभर चिदिचौर खेलमैदान, बसपार्क क्षेत्र र तम्घास बजारमा पैसा माग्ने गर्दछन् र साँझ घर फर्किने बेलामा कतिपयले घरमा बाबुआमा खुसी बनाउन अण्डा, चाउचाउलगायत अन्य खानेकुरा किनेर  लैजान्छन् भने कतिपयले आफैँलाई खान चाउचाउ, चुरोट, भोलादेखि थरिथरिका मिठाई किन्ने गरेको पाइन्छ । 

कतिपय बालबालिका परिवारकै कारण सडकमा पुगेका छन् । तम्घास बजारमा खुलेर सबै शब्द बोल्न नसक्ने मनिष सुनारले बुबाको कुटाइका कारण दाजुहरुसँग सडकमा बस्ने गरेको बताए । ‘विद्यालय जान, पढ्न अनि खान मन लाग्छ’, तोते बोल्दै उनले भने, ‘बाबाआमाले माया गर्नुहुन्न, घरमा खान दिनुहुन्न ।’ मनिष मायालु भएकाले देख्नेले पाँच-दश रुपैयाँ दिन्छन् । मनिषको पनि विगत डेढ वर्षदेखि सडकमै बास छ ।  

उमेरले छ वर्ष पुगेकी सलिना नेपाली पनि बाबुआमाले हेपाइका कारण अन्य सडक बालबालिकाकै समूहमा मिसिन पुगिन् । बजारमा हिँड्नेहरुको खुट्टा समाउँदै उनीहरूले दिएको पैसाले खानेकुरा किनेर घर लैजान्छिन् । उनकै कमाइले परिवारको हातमुख जोडिएको छ । ‘बाबाले कसैलाई नाम भन्ने र बाबाआमा चिनाएमा पिट्छु भन्नुहुन्छ’, उनले भनिन्, ‘विद्यालय जान नदिएर बजारमा पैसा माग्न पठाउनुहुन्छ ।’ खानेकुरा लिएर गए मात्र घरमा बास पाइन्छ उनले भनिन् । 

समूहका नाइके हुन् सागर नेपाली । उनको समूहमा १० जना बालबालिका छन् । दश वर्षका उनी समूहमा आइपर्ने समस्याको समाधान गर्दछन् । उनले सडकमा माग्दै हिँड्नुलाई आफ्नो अधिकार ठान्छन् । पढ्ने र लेख्ने सम्बन्धीका कुरामा आफूलाई ध्यान नजाने र बाबुआमाले पनि नपठाउने सागरको भनाइ छ । यो समूह बिहानको झिसमिसेमा बजार निस्कन्छ । झमक्क साँझ परेपछि घर फर्किन्छन् । बसपार्कमा केहीको घर भए पनि केही अस्थायीरुपमा बस्छन् ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले सडक बालबालिकाको व्यवस्थापन हुने बताए। बालबालिकाको बानीमा सुधार ल्याउने गरी अर्धवार्षिक व्यवस्थापन भएको र विद्यालयसम्म बालबालिका पुर्‍याएको खत्रीले बताए । पुनःसडकमा फर्किएका बालबालिकाको पहिचान गरी दीर्घकालीन व्यवस्थापन गरेर छाड्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस