माओवादी भनेकै बेला बलियो हुन्छ, भूतप्रेत बाटोमा निक्लिँदैमा केही हुनेवाला छैन : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, २१ फागुन २०७९, १३ : ४९
माओवादी भनेकै बेला बलियो हुन्छ, भूतप्रेत बाटोमा निक्लिँदैमा केही हुनेवाला छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै तीतामिठा बिर्सिएर माओवादी धारका सम्पूर्ण शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताएका छन् ।

शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आइतवार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ढिलोचाँडो माओवादी आन्दोलन एक ठाउँमा उभिने बताएका हुन् । 

‘केही चिज शुरू गरिएको छ । हामी कमजोर भएको कारणले होइन, माओवादी आन्दोलन र प्रभाव विभिन्न धारामा भए पनि एक ठाउँमा हुँदादेखि नै प्रतिक्रियावादीले भ्रम छर्ने र घेरा हाल्ने काम गरेका छन् । यसैले एकताबद्ध हुनुपर्छ भन्ने आवश्यकताबोध हुनु एउटा शक्ति हुनु हो,’ प्रचण्डले भनेका छन्, ‘माओवादी आन्दोलन ठूलो प्रवाहको रूपमा अगाडि आयो । शान्ति प्रक्रिया फेरि धेरै भंगलामा गयो । यी भंगाला एक भएर विशाल सागरतिर जाने बेला भयो । बाबुराम, विप्लव, धर्मेन्द्र, किराणजीहरूले हासिल गरेका सबै तितामिठा अनुभव हाम्रै हुन् ।  हामी भनेका बेला बलियो हुन्छौं । कसैले कमजोर बनाउन सक्दैन । हामीले अनुभव गरेका तीतामिठा अनुभव साझा हुन् । हामी एक ठाउँमा केन्द्रित हुने अनुभव गयौं भने हामीलाई कसैले पनि रोक्न सक्दैन ।’

माओवादी शक्ति एक ठाउँमा उभिएर लाखौंजना सडकमा उत्रिने हो भने माओवादीले फेरि नयाँ यात्रा शुरू गर्ने दाबी प्रचण्डले गरेका छन् । 

प्रतिक्रिया दिनुहोस