विद्यालयलाई पूर्वशिक्षकले गरे आर्थिक सहयोग

सफल खबर संवाददाता

आइतबार, २१ फागुन २०७९, १० : ४६
विद्यालयलाई पूर्वशिक्षकले गरे आर्थिक सहयोग

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना काभ्रेमा रहेको सरस्वती आधारभूत विद्यालयलाई २ पूर्व शिक्षकले २ लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेका छन् ।अन्नपूर्ण–३ दानाका गंगाबहादुर पुर्जा र उनकी पत्नी योमाया पुर्जाले १ लाख ५१ हजार १०५ रुपैयाँ सहयोग गरेका हुन् ।

यसअघि १ लाख सहयोग गरेका हाल बेलायतमा बसोबास गर्ने गंगाबहादुरका भाइ कमलबहादुर पुर्जा र उनकी पत्नी शान्ति पुर्जाले थप ५० हजार रुपैयाँ उपलब्ध गराएका छन् । 

बिदा मनाउने क्रममा नेपाल आएका पुर्जा परिवारले काभ्रेमा पुगेर विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकलाई नगद हस्तान्तरण गरेका थिए । पुर्जा दाजुभाईले बेलायती सेनामा भर्ती हुनुअघि मुस्ताङको सिमानामा रहेको विद्यालयमा अध्यापन गराएका थिए ।

५० विद्यार्थी अध्ययनरत विद्यालयका निजी स्रोतका शिक्षकको तलबका लागि सहयोग रकम परिचालन गरिने विद्यालयले जनाएको छ । शारीरिक रूपमा अपाङ्गता भएका पुर्जाले यसअघि पनि बेलायत सरकारले पेन्सन बापत दिने तलब बापतको रकम जिल्लाका विभिन्न विद्यालयलाई उपलब्ध गराएका छन्। सन् १९८९ मा गोर्खा सैनिकमा भर्ति भएका पुर्जा सन् २००६ मा सेवा निवृत्त भएका थिए ।

सैनिक सेवामा प्रवेश गरेको ३ वर्षमै ढाडमा समस्या देखिएपछि उनी अहिले पनि वैशाखीको साहराले हिँडडुल गर्छन् ।उनले प्रवासी नेपालीलाई सहयोग गर्ने उद्देश्यले मद्दत समूह नामक संस्था पनि स्थापना गरेका छन् । शारीरिक रूपमा अशक्त भए पनि पुर्जाले दुःखमा परेका नेपालीलाई बेलायतमा सहयोग जुटाउन सक्रिय भूमिका निभाउँदै आएका छन् । समूहलाई बेलायत सरकारले ‘क्वीन अवार्ड’ समेत प्रदान गरेको जनाइएको छ ।