सभ्य एवं सुरक्षित तरिकाले होली पर्व मनाउन चितवन प्रहरीको आग्रह

सफल खबर संवाददाता

शनिबार, २० फागुन २०७९, १५ : ३२
सभ्य एवं सुरक्षित तरिकाले होली पर्व मनाउन चितवन प्रहरीको आग्रह

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले सभ्य र सुरक्षित तवरले होली पर्व मनाउन आग्रह गरेको छ । फागुन २२ गते पहाडि भेग र फागुन २३ गते तराई भेगमा होली पर्व मनाइँदै छ । चितवनमा भने दुवै दिन होली मनाउने गर्छन् ।

होलीको समयमा विगतका वर्षमा विभिन्न घटनाहरु भइरहेकाले सचेत रहन प्रहरीले आग्रह गरेको हो । होलीको नाममा कुनै अप्रिय र उश्रृङ्खल गतिविधि हुन नदिन प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

कसैको इच्छा विपरित रङ, लोला, मोबिल, मोसो, अण्डा, केमिकल र फोहोर पानी नछ्याप्न आग्रह गरिएको उनले बताए । त्यस्तै, महंगा गरगहना लगाएर होली नखेल्न, अपरिचित मानिसले दिएको खानेकुरा नखान, मादक पदार्थ सेवन नगरी ट्राफिक नियमको पूर्ण पालना गर्न अनुरोध गरिएको छ ।

अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक र पर्यटकलाई कुनै किसिमको दुर्व्यवहार नगर्न, रेलिङ नभएको घरको छत र सडकमा होली नखेल्न र भिडभाड हुने स्थानमा पकेटमार तथा लुटपाटका घटनाका सम्भावना हुने भएकाले सावधानी अपनाउन चितवन प्रहरीले आग्रह गरेको छ ।

होली पर्वको नाममा कसैले गैरकानुनी कार्य गरेको पाएमा प्रहरीको नियन्त्रण कक्ष नम्बर १००, ट्राफिक प्रहरी नियन्त्रण कक्ष नम्बर १०३ र जिल्ला प्रहरी कार्यालय चितवनको नम्बर ०५६–५९४८५५, ९८५५०९०१३३ मा खबर गर्न प्रहरीले भनेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस