छात्रालाई विष खुवाएको आरोपबारे अनुसन्धान गर्न इरानी राष्ट्रपतिको निर्देशन

सफल खबर संवाददाता

विहीबार, १८ फागुन २०७९, ०८ : ०६
छात्रालाई विष खुवाएको आरोपबारे अनुसन्धान गर्न इरानी राष्ट्रपतिको निर्देशन

एजेन्सी । इरानमा बुधबार सयभन्दा बढी विद्यार्थी अस्पताल भर्ना भएपछि इरानका राष्ट्रपतिले छात्रालाई विष खुवाएको आरोपबारे अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएका छन्।

राष्ट्रपतिको वेबसाइटमा इब्राहिम रायसीले गृहमन्त्री अहमद वाहिदीलाई आक्रमणको ‘अनुसन्धानको नतिजाबारे निरन्तर जानकारी’ उपलब्ध गराउने जिम्मेवारी दिएको उल्लेख छ। एक सरकारी अधिकारीका अनुसार विगत तीन महिनामा सयौँको सङ्ख्यामा छात्रामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ र यो इस्लामिक गणतन्त्रमा छात्रा विद्यालय बन्द गर्न बाध्य पार्ने प्रयास हुन सक्छ।

उत्तरपश्चिमी शहर अर्दाबिलमा सात र राजधानीका तीन गरी कम्तीमा १० वटा छात्रा विद्यालयलाई निशाना बनाइएको सञ्चारमाध्यमले जनाएका छन्।समाचार संस्था तस्निमका अनुसार तेहरानका तीनवटा विद्यालयमा विष सेवन भएको र अर्दाबिलमा भएको घटनाका कारण एक सय आठ जना विद्यार्थीलाई अस्पताल भर्ना गरिएको छ।

राष्ट्रपति रायसीको वेबसाइटमा प्रभावित विद्यार्थीका ‘परिवारको चिन्ता कम गर्न’ उनले वाहिदीलाई जिम्मेवारी तोकी अनुसन्धानका लागि निर्देशन दिएको उल्लेख गरिएको छ।वाहिदीले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी सुरक्षा बलले संदिग्ध विषाक्ततासम्बन्धी घटनामा तीन जनालाई हिरासतमा लिएको जानकारी गराए।

पवित्र शहर कोमका विद्यालयहरूमा मुख्यतया मलमा प्रयोग गरिने नाइट्रोजनको अंश फेला परेको उल्लेख गरिएको तर यसमा पूर्ण सत्यता नरहेको भन्दै स्वास्थ्य मन्त्रालयले घटनाको खण्डन गरेको छ।

प्रतिक्रिया दिनुहोस