काठमाडौं । राष्ट्रपति पदका दुवै उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
फागुन २५ गते हुन लागेको राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले फागुन १३ गते उम्मेदवारी दर्ता गराएका थिए ।
ती उम्मेदवारविरुद्ध दावी विरोध वा उजुरी दिने म्याद १४ गतेसम्म थियो । उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका १४ र १५ गते निर्धारण गरिएको थियो । तर उम्मेदवारहरुविरुद्ध कुनै पनि उजुरी नपरेकाले सोही व्यहोराको निर्णय गर्ने सहायक निर्वाचन अधिकृत एवम् प्रवक्ता अमृता कुमारी शर्माले जानकारी दिइन् ।
‘आज दिउँसो २ बजेसम्म उजुरी उपर छानबिन गरी निर्णय गर्ने भन्ने थियो तर उजुरी नै परेको छैन,’ शर्माले भनिन्, ‘बाँकी प्रक्रिया तालिका अनुसार अघि बढ्छ ।’
निर्वाचन तालिका अनुसार फागुन १६ गते बिहान १० बजेदेखि अपराह्न चार बजेसम्म उम्मेदवारहरुलाई नाम फिर्ता लिने समय निर्धारण गरिएको छ । सोही दिन ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ । त्यसपछि फागुन २५ गते राष्ट्रपति पदको निर्वाचन हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ फागुन २०७९, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ