राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, ०८ फागुन २०७९, १६ : ३५
राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाह्रबुँदे सहमतिमा हस्ताक्षर गरेका दलहरु राष्ट्रपति निर्वाचनका बेलामा पनि एक ठाउँमा रहनुपर्ने बताएका छन् । सोमबार दिउँसो पोखराको लेखनाथमा आफ्नो पार्टी नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले बाह्रबुँदे सहमति, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँमा रहेका शक्ति राष्ट्रपति निर्वाचनका बेला पनि मिल्नुपर्ने आफूहरुको मत रहेको बताएका हुन् ।

‘१२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एक ठाउँ उभिएका थिए। फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ । राष्ट्रिय सहमतिमार्फत् मुलुकका समस्या समाधान गर्नुपर्छ। राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो’ उनले भने ।

आफूहरुले राष्ट्रपतिमा कुनै व्यक्तिको कुरा नगरेको भन्दै तीन ठूला दल एक ठाउँमा रहनुपर्ने धारणा राखेको बताए । ‘राष्ट्रिय सहमतिका लागि विभिन्न विकल्प छन्, ठूला पार्टी एक ठाउँ उभिन नसक्ने अवस्था छैन’ उनले भने,  ‘राज्यका मुख्य ठाउँहरूमा समझदारीका साथ अघि बढ्न सकिन्छ। हाम्रा लागि यही मान्छे भन्ने छैन, जहाँ सहमति हुन्छ, त्यहाँबाट अघि बढौँ। तर, ठूला दलहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ ।’

प्रचण्डले २ महिना जनताका बीचमा गएर उनीहरुको कुरा सुन्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘दुई महिनाभित्र हामी केन्द्रीय समितिको पूर्ण बैठक बस्छौं । त्यतिञ्जेल जनता र कार्यकर्तामा गएर उनीहरूका कुरा सुनौं, उनीहरूका सुझाव लिऔं’ उनले भने, ‘शहीद परिवार, बेपत्ता परिवार, घाइते अपाङ्ग साथीहरू भेटौं । उनीहरूको सुझावका आधारमा पार्टी पुनर्निर्माण र रूपान्तर गरौं । ‘

प्रतिक्रिया दिनुहोस