नेता भण्डारीको स्वास्थ्यमा सुधार हुँदै, आजदेखि कृत्रिम अक्सिजन हटाइने

सफल खबर संवाददाता

सोमबार, ०८ फागुन २०७९, १० : २६
नेता भण्डारीको स्वास्थ्यमा सुधार हुँदै, आजदेखि कृत्रिम अक्सिजन हटाइने

काठमाडौं । भान्सामा रहेको सिलिण्डरबाट खाना पकाउने ग्यास चुहिएर भएको आगलागीमा परेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा। चन्द्रकान्त भण्डारीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीलाई दिइँदै आएको कृत्रिम अक्सिजन आज सोमबारदेखि हटाउने तयारी गरिएको उनका आफन्तले जनाएका छन् । भण्डारीलाई शुक्रबारदेखि नै नलीमार्फत् खाना खुवाउन शुरु गरिएको छ । उपचारको नेतृत्व गरिरहेका डा. मुकेश मिश्राले सोमबारदेखि भण्डारीलाई प्राकृतिक रुपमा नै श्वासप्रश्वासको ट्रायलमा लैजाने बताएको उपचारका लागि मुम्बइमा रहेका उनका आफन्तले बताएका छन् ।  

यसअघि शतप्रतिशत कृत्रिम अक्सिजको सहारामा रहेको भण्डारी आइतबारदेखि कृत्रिम अक्सिजनको मात्रा घटाउँदै लगिएको थियो। कृत्रिम अक्सिजनको मात्रा ३५ प्रतिशतमा झारिए पनि सोमबारदेखि कृतिम अक्सिजनलाई शून्य प्रतिशतमा झार्न लागिएको चिकित्सकको भनाइ छ ।  

आइतबार उनको छातिको फिजियो थेरापी गरिएको थियो। शनिबार बिहान डिहाइड्रेसनका कारण पिसाव कम भएको र प्लेटलेस एक लाखमा झरेकोमा शनिबार साझसम्म तरल मात्रा बढाउँदा डिहाइड्रेसनको अवस्था सामान्यमा आएको छ । भण्डारीको अनुहारमा डढेको कालो छाला झरी नयाँ पलाउन थालेको पनि चिकित्सकको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस