सैनिक मञ्चमा नेपाली सेनाको हर्ष बढाइँ

सफल खबर संवाददाता

शनिबार, ०६ फागुन २०७९, १४ : २६
सैनिक मञ्चमा नेपाली सेनाको हर्ष बढाइँ

काठमाडौँ । नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शनिबार विशेष समारोहकाबीच युद्धकला, शिवरात्रि परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ।

नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी २ सय ६० औँ स्थापना दिवस मनाएको हो। सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, का.मु. प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो।

महाशिवरात्री तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनी गरेका थियो। राष्ट्रपति भण्डारीले सो अवसरमा त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरेकी थिइन्।

हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो। सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड  तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए।

भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा ब्याण्ड प्रस्तुतिसमेत भएको थियो। जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो।

नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउने गर्छ। संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना सन् १९५८ देखि संलग्न रहँदै आएको छ। शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकको सूचीमा नेपाल अग्रणी स्थानमा पर्दछ।

प्रतिक्रिया दिनुहोस