प्रचण्डलाई ५ वर्षै प्रधानमन्त्री बनाउने कांग्रेसको संकेत

सफल खबर संवाददाता

शुक्रबार, ०५ फागुन २०७९, १४ : २७
प्रचण्डलाई ५ वर्षै प्रधानमन्त्री बनाउने कांग्रेसको संकेत

काठमाडौँ । नेपाली काँग्रेसले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई समर्थन गरेमा पूर्ण कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा स्वीकार्ने संकेत दिएको छ ।

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा सत्तारुढ दल माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरेको खण्डमा काँग्रेसले पनि ५ वर्ष नै प्रधानमन्त्री दाहाललाई समर्थन गरेर अघि बढ्नुपर्ने बताएका हुन् । उनले अहिलेको परिवेशमा नेपाली काँग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वाभाविक हुने दाबी गरे ।

संविधान रक्षाका लागि नेपाली काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै उनले राष्ट्रपतिको पद महत्वपूर्ण भएको बताए ।‘अहिलेको परिवेशमा नेपाली काँग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वभाविक हुन्छ । संविधान रक्षाको कोणबाट हेर्दा पनि त्यो उपयुक्त हुन्छ । किनभने अहिले वर्तमान राष्ट्रपतिले जसरी संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गर्नुभयो, त्यो आगामी दिनमा दोहोरिनु हुँदैन,’ उनले भने, ‘एमाले पार्टी र यसका नेता केपी शर्मा ओलीजीले जसरी संसदको पहलिो बैठकमा नै संसद विघटनको विषयलाई मुल विषय बनाउनुभयो, त्यस सन्दर्भमा पनि राष्ट्रपतिको पद महत्वपूर्ण भएको छ । राष्ट्रिय सहमति बन्नु सबैभन्दा उपयुक्त हुन्छ, बन्न नसके यो संविधानको रक्षाको पक्षधर पार्टीहरु छन् ती एक ठाउँमा उभिएर काँग्रेसको उम्मेदवारलाई विजयी बनाउनु पर्छ । गठबन्धनमा खास गरेर नेकपा (माओवादी केन्द्र) र यसको नेता प्रधानमन्त्री प्रचण्डजी त्यस बेलामा संविधानको रक्षाको विषय नै प्रमुख विषय बनाएर नेपाली काँग्रेस नेतृत्वमा गठबन्धन बनेको हो । उनहरुले नै त्यो कुरा अघि सार्नुभएको हो । अहिले पनि त्यो विषय हाम्रा लागि प्रमुख विषय हो भनैर प्रचण्डजीले भन्नुभएको छ । त्यसै आधारमा नेपाली काँग्रेसले विश्वासको मत दिएको हो ।’

उनले राष्ट्रपति नेपाली काँग्रेसको हुने वा नहुने भन्ने कुरा गौण रहेको तर संविधानको विषयमा कुन पार्टी कहाँ उभिने भन्ने कुरा प्रमुख रहेको बताए । उनले एमालेले राष्ट्रिय सहमति नचाहेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो पार्टीले के निर्णय गर्ने भन्ने कुरालाई ध्यान दिन जरुरी रहेको बताए ।

‘नेपाली काँग्रेसको राष्ट्रपति हुने वा नहुने भन्ने विषयमा मात्रै यो विषय सिमित छैन । संविधानको विषयमा कुन पार्टी कहाँ उभिने ? भन्ने विषय छ,’ उनले भने, ‘हाम्रो पार्टीगत स्वार्थको विषय मात्रै छैन । यसलाई विश्वास गर्ने कुनै पार्टीसँग पनि यो जोडिएकाले यसमा एमाले पार्टी सहमत नभइराख्दा कहाँ उभिने भन्नेकुरा निक्र्यौल गर्नुपर्छ । खास गरेर प्रधानमन्त्रीज्युले गर्नुपर्छ । त्यस्तो अवस्था आयो भने उन त्यसको लागि तयार हुनुपर्छ । राष्ट्रपतिमा काँग्रेसतर्फको उम्मेदवारलाई समर्थन गर्दा नेपाली काँग्रेसले दिएको विश्वासको मतलाई निरन्तरता दिनुपर्छ ।’

प्रवक्ता महतले सबैभन्दा ठूलो दल बनेर सत्ता बाहिर बस्नु काँग्रेसका लागि बिडम्वनाको विषय भएको बताए । कुनैपनि दलको नश्चित बहुमत नआउने अवस्थामा तेस्रो, चौथो पार्टी निर्णायक हुने अवस्था रहेको भने उनले स्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस