घरेलु मैदानमा नामिबियासँग भिड्दै नेपाल

सफल खबर संवाददाता

मंगलबार, ०२ फागुन २०७९, ०८ : ४६
घरेलु मैदानमा नामिबियासँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक शृखंला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । शृखंलाको पहिलो खेलमा घरेलु टोली नेपालले आज नामबियासँग खेल्दैछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

लिग टु मा नेपालले तीन वर्षपछि घरेलु मैदानमा खेल्दैछ भने नामबायले ७ वर्षपछि नेपालमा आएर खेल्न लागेको हो । नेपालले यसअघि सन् २०२० फेब्रुअरीमा ओमान र अमेरिका सहितको लिग टु शृखंला घरेलु मैदानमा खेलेको थियो । नामिबियाले २०१६ मा वर्ल्ड क्रिकेट लिगअन्तर्गत काठमाडौं आएर नेपालसँग दुई खेल खेलेको थियो ।

नेपालले लिग टु अन्तर्गत स्कटल्याण्ड र नामिबियामा गएर शृखंला खेलिसकेको छ । लिग टु मा नेपालले नामिबियालाई हराउन सकेको छैन । त्यसैले आजको खेलमा नेपालको सबै शक्ति घरेलु मैदान र दर्शकमाझ नामिबिलाई हराउनेतर्फ हुनेछ ।

स्कटल्याण्डमा भएको शृखंलामा नेपाल नामिबियासँग दुवै खेलमा पराजित भएको थियो । यस्तै नामिबियामा गत डिसेम्बरमा भएको शृखंलामा नेपाल एक खेलमा नामिबियासँग पराजित भएको थियो । एक खेल भने वर्षाले प्रभावित हुँदा नतिजाविहीन बनेको थियो ।

नेपालको लागि ओडीआई मान्यता बचाइराख्न यो शृखंला महत्वपूर्ण रहेको छ । यस्तै नयाँ प्रशिक्षक मोन्टी देसाइले यही शृखंलाबाट नेपालको प्रशिक्षण सुरु गरेका छन् । बलात्कारको आरोप लागेका पूर्वकप्तान सन्दीप लामिछाने यही शृखंलामार्फत राष्ट्रिय टिममा फर्किएका छन् ।

सन्दीपसहित चारसहित राष्ट्रिय टिममा पुनरागमन गर्दा युवा स्पीनर सूर्य तामाङले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस