विषादीले बर्बादी

त्रियानब्बे प्रतिशत किसानले बारीमा छर्छन् विषादी

सूर्यप्रकाश कँडेल

सोमबार, २५ असार २०७५, १७ : ५५
त्रियानब्बे प्रतिशत किसानले बारीमा छर्छन् विषादी

चितवन । नेपालमा विषादीको बढ्दो प्रयोगले जनस्वास्थ्यमा खतरा पुगिरहेको सरोकारवालाले बताएका छन् । उनीहरुले विषादीको प्रयोग न्यूनीकरण गर्न नसके भविष्यमा जनस्वास्थ्यमाथि अझ धेरै समस्या आउने बताएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई तरकारी जोन पार्वतीपुरले सोमबार भरतपुरमा आयोजना गरेको विषादी प्रयोग न्यूनीकरण सम्बन्धी गोष्ठीका वक्ताहरुले यस्तो बताएका हुन् । राष्ट्रिय कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गतको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक घनश्याम भण्डारीले नेपालमा ९३ प्रतिशत किसानले विषादी प्रयोग गर्ने गरेको बताउनु भयो ।
सबैभन्दा धेरै ८५ प्रतिशत विषादी तरकारी बालीमा र त्यसपछि आठ प्रतिशत विषादी खाद्यान्न बालीमा प्रयोग हुने गरेको भण्डारीले जानकारी दिनुभयो । ‘४० प्रतिशत किसानहरु बालीमा रोग, किरा देखिनु अगावै विषादी छर्छन्’ उहाँले भन्नुभयो, ‘४८ प्रतिशत किसानहरु समस्या देखा पर्नासाथ विषादी छर्छन् ।’ यी दुवै अवस्थामा विषादी आवश्यक हुन्छ कि हुँदैन भन्ने बुझेर भन्दापनि अन्धाधुन्ध विषादी प्रयोग गरेको पाइएको कृषि वैज्ञानिक भण्डारीले बताउनु भयो ।

कृषिमा विषादीको प्रयोग विश्वभर नै डरलाग्दो जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा बर्सेनी हुने ३० लाखभन्दा बढी विषादी सम्बन्धी दुर्घटनाबाट दुई लाख २० हजार जनाको ज्यान जाने गरेको छ । डीडीटी विश्वको पहिलो रासायनिक विषादी हो । यसको आविष्कार सन् १९३९ मा डा. पाउल हर्मन मुलरले गरेका थिए । नेपालमा सन् १९५२ मा औलो नियन्त्रणका लागि ल्याइएको डीडीटी कालान्तरमा कृषि बालीमा उत्पादन बढाउन प्रयोग हुन थाल्यो ।

पछिल्लो तीन दशकमा प्रांगारिक कृषिमा सक्रिय चितवन फूलबारीका किसान चनद्रप्रसाद अधिकारीले प्रांगारिक कृषिको अवस्था र चुनौती विषयक प्रस्तुति दिँदै नेपालमा एक सय १७ नामका एक हजार पाँच सय ६१ थरी विषादी दर्ता भएको जानकारी दिनुभयो । उहाँका अनुसार, नेपालमा वार्षिक ६० करोड बराबरको चार सय टनभन्दा बढी विषादी आयात हुने गरेको छ । प्रतिहेक्टर तीन सय ९६ ग्राम विषादी प्रयोग हुने गरेको सरकारी तथ्यांक छ । ‘प्रांगारिक कृषिको सबल पक्ष भन्नु नै उत्पादक र उपभोक्ता सुरक्षित रहनु हो’ अधिकारीले भन्नुभयो, ‘लागतभन्दा उत्पादनको मूल्य कम हुँदा प्रांगारिक कृषिमा लागेका किसान मर्कामा परेका छन् । यो ठूलो चुनौती हो प्रांगारिक कृषिको ।’
पर्यावरणविद् वसन्त रानाभाटले विषदीको प्रयोग न्यूनीकरणबाटै विषादीरहित अवस्थामा पुग्न सकिने बताउनु भयो । उहाँले रासायनिक विषादीको असरले मानव स्वास्थ्यलाई मात्र नभई पूरै पर्यावरणीय चक्रलाई नै असर पारिरहेको बताउनु भयो । तरकारी जोन पार्वतीपुरका कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत झलकनाथ कँडेलले पाँच सय १३ हेक्टर समेटेर तरकारी जोन निर्माण गरिएको जानकारी दिनुभयो । कृषक समूह र संस्थासहित तरकारी जोनमा ५ सय ३८ जना किसान आवद्ध रहेको उहाँले बताउनु भयो ।
नेपाल सरकारको २० वर्षे कृषि विकास रणनीतिको सहयोगीको रुपमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आएको हो । परियोजना अन्तर्गत पकेट, ब्लक, जोन र सुपरजोन छुट्याइएका छन् । पकेट क्षेत्र हुन न्युनतम १० हेक्टर, ब्लक हुन सय हेक्टर, जोन हुन पाँच सय हेक्टर र सुपरजोन हुन हजार हेक्टरमा कृषिको कुनै एक विधामा काम भएको हुनु पर्छ । चितवनमा तरकारीसँगै मह र केरा जोन कायम गरिएको छ ।
तरकारी जोन संचालक समिति संयोजक बालिकाकुमारी गिरीको अध्यक्षतामा सम्पन्न गोष्ठीको उद्घाटन भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले गर्नु भएको थियो । उद्घाटन मन्तव्यका क्रममा उहाँले स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएकोले धन कमाउने होडमा अरुको स्वास्थ्य बिगार्न नहुने बताउनु भयो । 
जोन संचालक समितिका सहसंयोजक विजयकुमार भुजेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रम तरकारी जोन पार्वतीपुरका कृषि अधिकृत माधव पौडेलले संचालन गर्नु भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस