काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९–८० को छ महिनामा रू ५६ अर्ब ४६ करोड ऋण उठाएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य ऋण परिचालन पनि हुन् ।
अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार सरकारले पुस मसान्तसम्म रू ३० अर्ब आन्तरिक र रू २६ अर्ब ४६ करोड बाह्य ऋण उठाएको छ ।
चालु आवका लागि सरकारले रू दुई खर्ब ५६ अर्ब बराबर आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो । जसबाट वार्षिक बजेटको १४ दशमलव तीन प्रतिशत स्रोत बेहोर्ने सरकारको योजना थियो । तर गत पुस मसान्तसम्ममा सरकारले रू ३० अर्ब बराबर मात्रै आन्तरिक ऋण उठाएको छ । यो अवधिमा संघीय सरकारले लिएको आन्तरिक ऋणमध्ये रू १५ अर्बको एक वर्षे ट्रेजरी बिल, रू आठ अर्बको दुई वर्षे विकास ऋणपत्र, रू दुई अर्बको तीनवर्षे विकास ऋणपत्र र रू पाँच अर्बको चारवर्षे ऋणपत्र जारी भएका छन् । सोही अवधिमा सरकारले तिरेको आन्तरिक ऋणको साँवा ब्याज भने रू ८३ अर्ब तीन करोड बराबर छ ।
चालु आवका लागि रू ५५ अर्ब ४५ करोड ८३ लाख बराबर अनुदान र रू दुई खर्ब ४२ अर्ब बराबर बाह्य ऋण लिने सरकारको योजना थियो । गत पुस मसान्तसम्म सरकारले लिएको वैदेशिक अनुदानको वास्तविक प्राप्ति भने रू आठ अर्ब १२ करोड र कुल वैदेशिक ऋण २६ अर्ब ४६ करोड बराबर छ । तर सोही अवधिमा विभिन्न दातृ निकायले अनुदान सहायतातर्फ रू २३ अर्ब १२ करोड १० लाख र सहुलियतपूर्ण ऋणतर्फ रू एक खर्ब १४ अर्ब बराबर प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
विकास पूर्वाधार आयोजनाको कार्यान्वयन प्रभावकारी हुन नसक्दा वैदेशिक अनुदान र ऋण लक्ष्यअनुसार लिन नसकिएको अर्थ मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ फागुन २०७९, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थ मन्त्रालयद्वारा चालु आर्थिक वर्षमा कार्यान्वयन गरिरहेको बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक
घरमा धेरै रकम नराखेर विद्युतीय भुक्तानी गर्न अर्थ मन्त्रालयको अपिल
अर्थ मन्त्रालयका सबै टिप्पणी अब डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयद्वारा निर्वाचन र पुनर्निर्माणका लागि स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु