शिक्षा क्षेत्रमा सुधार आवश्यक छ : प्रदीप पौडेल

सफल खबर संवाददाता

शनिबार, २८ माघ २०७९, २१ : ०३
शिक्षा क्षेत्रमा सुधार आवश्यक छ : प्रदीप पौडेल

टोखा। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको शिक्षा क्षेत्रमा सुधारको खाँचो औँल्याएको छ । टोखा नगरपालिका–६ मा सञ्चालित एशिया प्यासिफिक स्कुलको प्रथम अभिभावक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले मुलुकको विकासका लागि नेपालको शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेको बताए ।

“राज्यले शैक्षिक प्रणालीमा परिवर्तन गर्न आवश्यक छ, विद्यालय र विश्वविद्यालयमा धेरै विद्यार्थी राखेर भद्रगोल बनाउनुभन्दा कम विद्यार्थी राखेर गुणस्तरीय शिक्षा प्रदान गर्नसके नेपालको शिक्षा क्षेत्रमा सुधार हुन्छ,”– उनले भने । गुणस्तरीय शिक्षा प्रदान गर्न सरकारीभन्दा निजी विद्यालय अब्बल रहेको उनको भनाइ थियो ।

काठमाडौँ क्षेत्र नं ५ का सांसद पौडेलले नेपालको शिक्षा नीतिलाई कस्तो बनाउने भन्नेबारे सरोकारवालाबीच गम्भीर बहस आवश्यक रहेको बताए । दक्षजनशक्ति उत्पादन गर्न नसक्ने विश्वविद्यालय मुलुकको लागि काम नभएको उनको भनाइ थियो । नेता पौडेलले समाजलाई नेतृत्व गर्ने हतियार र बल नभएर विचार भएको उल्लेख गरे । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाले पछिल्लो समय प्राविधिक शिक्षालाई जोड दिन लागेको बताए । 

उनले प्राविधिक शिक्षा सुरु गर्ने टोखा नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई रु एक करोड अनुदान रकम उपलब्ध गराउने घोषणा गरे । निजी विद्यालयले पनि प्राविधिक शिक्षालाई अगाडि बढाए नगरपालिकाले सहयोग गर्ने उहाँको भनाइ थियो । टोखा नगरपालिका–६ की वडाअध्यक्ष शान्ता पौडेलले शिक्षा र स्वास्थ्य क्षेत्रलाई टोखाले प्राथमिकतामा राखेर आफ्ना कार्यक्रम अगाडि बढाएको बताए । 

सामुदायिकसँगै निजी विद्यालयको पक्षमा नगरपालिकाले काम गर्ने उहाँको भनाइ थियो । विसं २०७७ मा स्थापना भएको एशिया प्यासिफिक विद्यालयले पढाइसँगै योगा, गीतसङ्गीत, खेलकुदलगायतका अतिरिक्त क्रियाकलापलाई समेत अगाडि बढाउँदै आएको सो विद्यालयका प्राचार्य रमेश घिमिरेले जानकारी दिए । एशिया प्यासिफिक विद्यालयले काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेर शिक्षकलाई तालिम तथा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस