फिफाद्वारा ‘द बेस्ट अवार्ड’ को प्रशिक्षकतर्फको मनोनयन सार्वजनिक

सफल खबर संवाददाता

शुक्रबार, २७ माघ २०७९, ११ : ५५
फिफाद्वारा ‘द बेस्ट अवार्ड’ को प्रशिक्षकतर्फको मनोनयन सार्वजनिक

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले यस वर्षको ‘द बेस्ट फिफा फुटबल अवार्ड’को लागि उत्कृष्ट तीन प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको छ । अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि जिताउन सफल लियोनल स्कालोनीसहित रियल मड्रिडका कार्लो एन्सेलोटी र म्यान्चेस्टर सिटीका पेप ग्वार्डियोला फिफाले सार्वजनिक गरेको उत्कृष्ट प्रशिक्षकको पुरुषतर्फ मनोनयनमा परेका छन् ।

यसैगरी, महिलातर्फ इंग्ल्याण्डलाई युरोकप जिताउने नेदरल्याण्ड्सकी प्रशिक्षक सरिना वेगमन मनोनयनमा परेकी छिन् । उनीसँगै फ्रेन्च कप लियोंलाई फ्रेन्च लिग र युरोपियन च्याम्पियन्स लिग जिताउने सोनिया बोम्पास्टर र ब्राजिललाई महिला कोपा अमेरिका जिताउने स्विडीस प्रशिक्षक पिया सन्डेज पनि मनोनयनमा छन् ।

फिफा अवार्डमा ८ अगस्ट २०२१ देखि १८ डिसेम्बर २०२२ सम्मको अवधिमा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षकलाई मनोनयनमा राखिएको हो । यही फेब्रुअरी २७ तारिखमा पेरिसमा हुने अवार्ड समारोहमा विजेताको घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस