रेशम चौधरीको मुद्दामा सरकार पक्ष झिकाउने आदेश

सफल खबर संवाददाता

आइतबार, २२ माघ २०७९, २० : ३७
रेशम चौधरीको मुद्दामा सरकार पक्ष झिकाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी (सरकार पक्ष) झिकाउने आदेश दिएको छ ।

न्यायाधीशद्वय टङ्कबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले आज सरकार पक्षलाई झिकाउने आदेश गरेको हो । अदालतको आदेशानुसार नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीसहितले विपक्षी बनाएकाहरू अदालतमा उपस्थित हुनुपर्ने भएको चौधरी पक्षका अधिवक्ता विकास भट्टराईले जानकारी दिए।

उक्त घटनाका बारेमा सरकारले कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त अदालतले तीन वर्षको कैद गर्ने फैसला सुनाएको थियो भने उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको थियो ।

उक्त फैसलाविरुद्ध रेशमसहित सीताराम चौधरी, हरिनारायण चौधरी, श्रवण चौधरी, चुन्नीराम चौधरी, राजकुमार कठरिया, प्रदीप चौधरी र लक्ष्मण थारूले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । सोही निवेदनमाथिको सुनुवाइपछि अदालतले उक्त आदेश गरेको हो ।

थरूहटको आन्दोनका क्रममा २०७२ साल भदौ ७ गते भएको टीकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठजनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस