जरायो प्रकरणः विदेशी समूहको संलग्नता

सफल खबर संवाददाता

शनिबार, २१ माघ २०७९, २० : ३९
जरायो प्रकरणः विदेशी समूहको संलग्नता

वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको घटनामा विदेशी समूहको पनि संलग्नता रहेको देखिएको छ।

पुस ४ गते निकुञ्जको जमुनिया खोला क्षेत्रबाट पाँच जना मृत जरायो तथा हतियारसहित पक्राउ परेका थिए।

उक्त घटनामा संलग्नमध्ये ४९ जनालाई प्रतिवादी बनाएर निकुञ्जले मुद्दा दर्ता गरेर कारबाही अगाडि बढाएको छ। सोही क्रममा जरायो मारेको घटनामा स्वदेशीसहित विदेशी समूहको संलग्नता रहेको पनि प्रमाण भेटिएको निकुञ्जको कार्यालयले जनाएको छ।

संरक्षित वन्यजन्तुको सिकार गरी तिनका अखेटोपहार अन्तर्राष्ट्रिय रुपमा हुने गरेको प्रमाण भेटिएपछि निकुञ्जले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, ०७३ र संगठित अपराध नियन्त्रण ऐन, ०७० बमोजिम थप अनुसन्धान गर्ने निर्णयसमेत गरिएको कार्यालयका सूचना अधिकारी सूर्य खड्काले बताए।

 ‘प्रतिवादीहरूले स्वदेशी र विदेशको विभिन्न स्थानमा समूह बनाई आधुनिक हतियारसमेतको प्रयोग गरी संरक्षित वन्यजन्तुको समेत सिकार गरी तिनका अखेटोपहार अन्तर्राष्ट्रिय रुपमा ओसारपसार गर्ने गरेको दशी प्रमाणका आधारमा संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय ब्यापार नियन्त्रण ऐन, २०७३ र संगठित अपराध नियन्त्रण ऐन, २०७० बमोजिम थप अनुसन्धान हुनका लागि निर्णय भएको खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रतिवादीमध्ये यस कार्यमा क–कसको संलग्नता छ भन्ने कुरा निकुञ्जले खुलाएको छैन। यसैगरी प्रतिवादी बनाइएकाहरूमध्ये केही ब्यक्तिको अस्वाभाविक रुपमा वितीय कारोबार भएको पनि खुलेको छ।

उनीहरूलाई सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन,२०६४ बमोजिम थप अनुसन्धानको लागि सम्पति शुद्धीकरण अनुसन्धान बिभागमा लेखी पठाइएको निकुञ्जले जानकारी दिएको छ।

निकुञ्जले जरायो मारेको घटनामा प्रतिवादी बनाएका ४९ जनामध्ये ३४ जना भने फरार रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस