दुई महिना नपुग्दै प्रचण्ड सरकार अप्ठ्यारोमा, सत्तारुढ पाँच दल नै असन्तुष्ट

सफल खबर संवाददाता

शनिबार, २१ माघ २०७९, ०९ : १०
दुई महिना नपुग्दै प्रचण्ड सरकार अप्ठ्यारोमा, सत्तारुढ पाँच दल नै असन्तुष्ट

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकार गठन नभएको दुई महिना पनि नबित्दै विश्वासको मत दिने सत्तारुढ पाँच दल नै असन्तुष्ट बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको दुई दिने ‘अल्टिमेटम’ आज सकिँदै गर्दा सत्तारुढ पाँच दलले  प्रधानमन्त्री प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् । 

मुख्यतः राष्ट्रपति निर्वाचन र गृह मन्त्रालय बाँडफाँट गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डले प्रपञ्च रचेको भन्दै सत्ता सहयोगी दलले नै औपचारिक र अनौपचारिक रूपमा असन्तुष्ट जाहेर गर्न थालेका छन् ।  सुरुमा नै पूर्ववत् सहमतिअनुसार मन्त्रालय नदिएको भन्दै सिके राउतले असन्तुष्टि जनाएका थिए । पूर्ववत् सहमतिअनुसार उद्योग मन्त्रालयको जिम्मेवारी नदिएर खानेपानी मन्त्रालय दिएपछि सो पार्टीका सांसद अब्दुल खानाले मन्त्रालयमा गएर तीन दिनसम्म पदभार नै ग्रहण गरेनन् ।

सहमतिअनुसार उद्योग मन्त्रालय आफूले पाउनुपर्नेमा एमालेका दामोदर भण्डारीलाई दिएपछि जनमत पार्टीले सुरुमा नै प्रधानमन्त्री प्रचण्डसँग असन्तुष्टि जाहेर गरेको थियो । अन्ततः लामो रस्साकस्सीपछि जनमतबाट प्रतिनिधित्व गर्ने मन्त्री खानले खानेपानी मन्त्रालयमा गएर पदभार ग्रहण गरेका थिए । उता, नागरिक उन्मुक्ति पार्टीले पनि प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । कैलाली–२ वटा प्रतिनिधित्व गर्ने सांसद अरुणकुमार चौधरीलाई ट्याक्टर जलाएको मुद्दालाई लिएर बिहीबार पक्राउ गरेपछि उन्मुक्ति पार्टीले प्रधानमन्त्री प्रचण्डसँग असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेको छ । 

चौधरीलाई बिहीबार पक्राउ गरेपछि सो पार्टीले बिहीबार नै प्रेस विज्ञप्ति जारी गरेर २४ घण्टाभित्र रिहाइ नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । पूर्व सांसद रेशमलाल चौधरीलाई रिहा गर्ने सर्तमा प्रचण्ड सरकारलाई समर्थन जनाएको उन्मुक्ति पार्टीका सांसद चौधरीलाई पक्राउ गरेपछि थप आक्रोशित भएको छ । केन्द्रको विवादले सुदूरपश्चिमको सरकार पनि सङ्कटमा परेको छ । नागरिक उन्मुक्तिले विश्वासको मत नदिने तथा लुम्बिनी प्रदेशमा २५ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धन बाहिरबाटै उम्मेदवार दर्ता गरेपछि थप सत्ता साझेदार दलबिच सङ्कट गहिरिएको छ । 

उता, गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको विरोध गर्ने मन्त्रीलाई कारबाही गर्ने चेतावनी संसदवाटै प्रधानमन्त्री दाहालले दिए पछि उनको समर्थक राष्ट्रिय प्रजातन्त्र पार्टी पनि आक्रोशित हुन पुगेको अवस्थामा छ ।  राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र घोषणा र सङ्घीयता खारेजीको माग गर्दै आएको राप्रपाका सांसदले प्रधानमन्त्री प्रचण्डको स्पष्टीकरण सोध्ने चेतावनीको विरोध गर्दै बुधवार बसेको प्रतिनिधिसभा बैठकबाट असहमति जनाइसकेका छन् ।  

सांसद धवल शमशेर राणा र ज्ञानेन्द्र शाहीलगायतले प्रधानमन्त्री प्रचण्डको सो चेतावनीप्रति आक्रोश पोख्दै मौजुदा सदनबाट नै राजसंस्था फर्काउने, हिन्दु राज्य घोषणा गर्ने र सङ्घीयताको विरोध निरन्तर रूपमा गर्ने ‘काउन्टर अभिव्यक्ति’ दिए । राप्रपाको सांसदहरुले आफ्नो माग सम्बोधन गर्नका लागि मौजुदा संसद् उपयुक्त स्थल भएको भन्दै सदनबाट नै प्रधानमन्त्री प्रचण्डको चेतावनीलाई काउन्टर दिएर आफ्नो पार्टीको धारणा राखिसकेका छन् । 

उता, गृह मन्त्रालयका विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका बीचमा लफडाबाजी सुरु भइसकेको छ । रास्वपालाई गृह मन्त्रालय नदिने सङ्केत गरेपछि सो पार्टीको बिहीबार बसेको बैठकले सरकार छाड्ने निर्णयमा पुग्नुअघि नै अन्तिम अवस्थामा आएर रोकिन पुगेको थियो ।  प्रधानमन्त्री प्रचण्डले दुई दिन भित्रमा गृह मन्त्रालयको बारेमा निर्णय नलिए शनिबारबाट सो पार्टी सत्ता साझेदार दलको रूपमा नहुन सक्ने बिहीबार नै रास्वपाले घोषणा गरिसकेको अवस्थामा छ । 

प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको फोन वार्ताका कारण दुई दिन रोकिन पुगेको जनाएको रास्वपाले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट गृह मन्त्रालयलगायत विवाद टुङ्गाउनु पर्ने निर्णय पनि लिएको छ । बैठक सुरु हुनुभन्दा पहिले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग भएको टेलिफोन वार्ताका कारण दुई दिनसम्म ‘धैर्य’ गर्ने निष्कर्षमा पुगेको रास्वपाले आज अचानक अर्को निर्णय लिन सक्ने चेतावनीका बीचमा प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेबीच टकराब चुलिएको अवस्था छ । 

उता, प्रचण्ड सरकारको मुख्य सहयोगी नेकपा एमाले पनि ‘सहमतीय राष्ट्रपति’ र रास्वपालाई दलीय सहमतिअनुसार गृह मन्त्रालय नदिएका कारण असन्तुष्ट बनेको छ । आफूलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको भन्दै पूर्व सहमति विपरीत ‘सहमतिको राष्ट्रपति’ खोजी गरेपछि एमाले पनि प्रधानमन्त्री प्रचण्डसँग असन्तुष्ट छ । 

‘सहमतीय राष्ट्रपति’ को तरङ्गले गम्भीर सोचमा परेको एमाले प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार रास्वपालाई झन गृह मन्त्रालय नदिने सङ्केत गरेपछि थप सशङ्कित बनेको छ । सर्वोच्च अदालतले रास्वपा सभापति लामिछानेलाई उप्रप्रधान तथा गृहमन्त्री र सांसद पद खारेज गरिदिए पछि सोही बहानामा प्रधानमन्त्री प्रचण्डले भन्ने गरेको अर्थात् सर्वोच्च अदालतको ‘फैसलाको पूर्ण पाठ’ नआएसम्म उसलाई गृह मन्त्रालय नदिने अडान राखेपछि एमाले अध्यक्ष ओली आक्रोशित बनेका छन् ।

बिहीबार विराटनगरमा ओलीले ‘फैसलाको पूर्ण पाठ कण्ठ गर्नका लागि हो र रु’ भन्ने प्रश्न गर्दै ओलीले पूर्व सहमति अनुसार रास्वपालाई गृह मन्त्रालय दिनु पर्ने धारणा सार्वजनिक रूपमा नै राखिसकेका छन् ।  प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह मन्त्रालय तत्काल नदिने अडान राखिरहेको बेला सत्ता साझेदार मुख्य घटक एमाले अध्यक्ष ओलीको सो अभिव्यक्तिले पनि सत्ता गठबन्धन सङ्कटमा परेको प्रस्ट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस