कामना सेवा विकास बैंकका सीइओसहित चार जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, १८ माघ २०७९, १९ : ४३
कामना सेवा विकास बैंकका सीइओसहित चार जना पक्राउ

झापा । कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेका छन् । घटनामा अझै थप केही व्यक्ति फरार छन् ।जिल्ला प्रहरी कार्यालय, झापाका एसपी दुर्गाराज रेग्मीका अनुसार नेपाल राष्ट्र बैंक हुँदै आएको सूचनाका आधारका इलाका प्रहरी कार्यालय, दमकले यसबारे अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेकाहरुमाथि बैंकिङ कसूर सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए । स्रोतका अनुसार विभिन्न फर्जी कम्पनीहरु खडा गरेर त्यसका नाममा ऋण दिइएको थियो ।

यसबारे कामना सेवा विकास बैंकले पहिले आन्तरिक अनुसन्धान गरेको थियो । त्यसक्रममा समस्या देखिएपछि राष्ट्र बैंकसँग अनुसन्धानका लागि पत्राचार गरेको थियो ।

बैंकले गरेको अनुसन्धानमा पनि समस्या देखिएपछि अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई भनेको थियो । सीआईबीले झापाको घटना भएकाले इलाका प्रहरी कार्यालय दमकलाई अनुसन्धान गर्ने जिम्मा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस