भारतबाट बढेर आयो इन्धनको मूल्य, पेट्रोल र डिजेलमा कति वृद्धि ?

सफल खबर संवाददाता

बुधबार, १८ माघ २०७९, १३ : ३७
भारतबाट बढेर आयो इन्धनको मूल्य, पेट्रोल र डिजेलमा कति वृद्धि ?

काठमाडौँ ।  भारतबाट इन्धनको मूल्य बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी) ले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो । जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको निगम स्रोतले जनाएको छ । 

भारतबाट इन्धनको मूल्य बढेर आएपछि निगम फेरि घाटामा गएको छ । स्रोतका अनुसार नेपालमा मूल्य समायोजन नगर्ने हो भने अबको १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ घाटा पर्नेछ । विगत ४ महिनासम्म निगम नाफामा रहँदै आएको थियो ।

विगतमा परेको घाटाका कारण निगमले सरकारबाट ७ अर्ब ऋण लिएको छ । त्यस्तै आईओसीलाई बुझाउनुपर्ने करिब ११ अर्ब रुपैयाँ बक्यौता छ । अन्तर्राष्ट्रिय बजारमा विगत एक महिनामा कच्चा तेलको भाउ प्रतिब्यारेल करिब ८ अमेरिकी डलरले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार ९१ः२० बजे० ब्रेन्ट कच्चा तेलको भाउ प्रतिब्यारेल ८५, डब्लूटीआईको ७९, मुर्बानको ८४ डलरमाथि कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस