पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्नुस् : मन्त्री किराँती

सफल खबर संवाददाता

आइतबार, १५ माघ २०७९, १५ : २९
पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्नुस् : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन।

आइतबार लुम्बिनी विकास कोषले आयोजना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र राज्यमन्त्रीलाई स्वागत कार्यक्रममा बोल्दै मन्त्री किराँतीले लुम्बिनी विकास कोषले देखाएको कार्यप्रगतिको रिपोर्ट सन्तोषजनक नभएको भन्दै कोषका कर्मचारीलाई क्यालेण्डर अनुसार कार्ययोजना बनाएर काम गर्ने निर्देशन दिए ।

उनले लुम्बिनी जस्तो पवित्र स्थलको काम इमान्दारिताका गर्न आग्रह गरे। मन्त्री किराँतीले लुम्बिनीको विकास गर्न कोषसँग बजेट, कार्यक्रम हुँदाहुँदै काम नभएको भन्दै अब भने योजना अनुसारको काम चाहिने बताए। उनले नेपालको संविधान कानून अनुसार संरचनाहरु निर्माण भएको भन्दै संरचनाहरुमा कर्मचारी भएर पनि काम किन नभएको ?भन्दै प्रश्न गरे ।

उनले लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेण्डर अनुसार सात दिन, एक महिना, तीन महिना,६ महिना र एक वर्षमा के गर्ने भन्ने कार्ययोजना बनाउन निर्देशन दिनुभयो । उहाँले गौतम बुद्धको जन्मथलो लुम्बिनी मागि खाने भाँडो नभएर बौद्ध धर्मलम्वीहरुको नाभी तथा ढुकढुकी भएको बताए । मन्त्री किराँतीले कर्मचारीहरुलाई पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्न आग्रह गरे । उनले नेपालले गौरवका साथ विश्वमा गौतम बुद्धको नाम बेच्ने,पवित्र थलो लुम्बिनी भन्ने तर लुम्बिनीमा नै अपवित्र काम गर्न कसैलाई छुट नभएको बताए ।

उनले लुम्बिनी विकास कोषको काम भएन भनेर कर्मचारी सरुवा गरेर रमिता नदेखाउने बताए । उनले कर्मचारी सरुवा तथा थर्काउने पुरानो प्रवृत्ति भएको भन्दै वर्तमान सरकार कर्मचारीहरुबाट क्यालेण्डर अनुसार कामको परिणाम ल्याउने बताए । मन्त्री किराँतीले कर्मचारीहरुले जस्केला वा झ्यालबाट छिरेर काम गर्ने कोशिस नगर्न आग्रह गरे । उनले आफू देशको हीत विपरित हुने कुनैपनि क्रियाकलापसँग सम्झौता नगर्ने दाबी गरे।

कार्यक्रममा पर्यटन सचिव सुरेश अधिकारीले लुम्बिनी विकास गुरुयोजना भन्दा बाहिर संरचना निर्माण भएको स्वीकार गरे । उनले गुरुयोजना भन्दा बाहिरका संरचना बनाउनुपर्ने बाध्यता भएपनि कतिपय बनाउनु नपर्ने संरचना बनाइएको बताए । उनले लुम्बिनी विकासको गुरुयोजना निर्माणमा ढिलाई भइरहेको पनि बताए । सचिव अधिकारीले बजेटको कमी,बजेट समयमा नै निकासा नहुने मात्रै नभइ कोषको काम प्राथमिकतामा भरपर्ने बताए ।

उनले लुम्बिनी क्षेत्रभित्रका विभन्न जग्गाहरु अन्तर्राष्ट्रिय धार्मिक संस्थाहरुलाई बाँडफाँट भएकाले समस्या भएको बताए ।

प्रतिक्रिया दिनुहोस