नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने निजी अस्पताललाई कारबाही गर्छु : स्वास्थ्यमन्त्री गिरी

सफल खबर संवाददाता

आइतबार, १५ माघ २०७९, १४ : ५१
नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने निजी अस्पताललाई कारबाही गर्छु : स्वास्थ्यमन्त्री गिरी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएका छन् । न्यूनतम पारिश्रमिक पनि नदिई नर्सहरुलाई काममा लगाउने कुरा मान्य नहुने उल्लेख गर्दै मन्त्री गिरीले त्यस्ता निजी अस्पतालको अनुगमन गरी कारबाही गर्ने बताएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल नर्सिङ संघको ६१ औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले आफूले मासिक ८/१० हजारमा पनि निजी क्षेत्रमा नर्सहरुले काम गर्नुपर्ने कहाली लाग्दो अवस्था सुनेको भन्दै तथ्य र प्रमाण खोज्न छिटै अनुगमन गर्ने बताए ।

‘अहिले मैले सुने–नर्सहरुले ८ हजार, १० हजारमा पनि निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ भन्ने कुरा सनिरहँदाखेरि यो भन्दा भयावह र कहाली लाग्दो अवस्था केही पनि हुन सक्दैन’ उनले भने, ‘म यहीँबाट भन्न चाहन्छु–यसरी न्यूनतम पारिश्रमिक पनि नदिइकन, तलव, भत्ता पनि नदिईकन काममा लगाउने र श्रमको शोषण गर्ने कुरा कुनै पनि मूल्यमा ठीक हुन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस