विवेकशील साझालाई पुनर्जीवन दिन्छौँ : मिलन पाण्डे

सफल खबर संवाददाता

आइतबार, १५ माघ २०७९, १४ : २८
विवेकशील साझालाई पुनर्जीवन दिन्छौँ : मिलन पाण्डे

काठमाडाैँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आफ्नो पार्टीलाई पुनर्जीवन दिने बताएका छन् । साथै उनले सडकबाटै प्रतिपक्षी दलकाे भूमिका निर्वाह गरेर खबरदारी गरिरहने समेत बताएका छन् ।

एक प्रेस वक्तव्य जारी गर्दै उनले भनेका छन्,  ‘२०६९ सालमा स्व. उज्वल थापाले सुरु गर्नुभएको विवेकशील अभियानले लगभग एक दशक पार गरेको छ। यो बिन्दुसम्म आइपुग्दा वैकल्पिक राजनीति, सुसंस्कृत राजनीति, गहिरो सुझबुझ सहितको राजनीति, नयाँ राजनीतिको आवश्यकता र स्पेस थप स्पष्ट देखिएको छ। हामीले यो राजनैतिक परिवर्तनलाई पनि यो अभियानको उपलब्धिका रूपमा लिएका छौँ।’

‘डेढ वर्ष अघि हाम्रा एक जना सहकर्मीले संविधानलाई भत्काउने विचार ल्याएपछि मैले समेत नेतृत्व गरिरहेको पार्टीमा दुई वैचारिक धार देखियो,’ रविन्द्र मिश्रलाइ लक्षित गर्दै उनले थप भनेका छन्, ‘हामीले उक्त विचारलाई त्यतिबेलानै खारेज गर्दै सङ्घर्ष गर्‍यौँ। उक्त निर्णयको विरुद्ध अदालत गयौँ। तर, पार्टीको स्थापनाको विचार र मर्मलाई गलत धारमा जान दिएनौँ। हामीले यो वैचारिक द्वन्द्व पार्टीभित्रको द्वन्द्वका रूपमा मात्र हेरिरहेका थिएनौँ, यसले राष्ट्रिय राजनीतिमा पार्ने प्रभावको रूपमा पनि हेरिरहेका थियौँ।’

मिश्रले पार्टी छाडेर गएपछि मिश्रकाे दस्ताबेज ‘विवादास्पद र घातक’ भन्दै खारेज गरिएकाे र उक्त निर्णयलाई बन्दीपुर भेलामार्फत समेत खारेज गरेपछि पार्टीभित्रकाे वैचारिक द्वन्द्व समाप्त भएको  उनले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस