मुलुकभर गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु मुख्य जिम्मेवारी : स्वास्थ्यमन्त्री गिरी

सफल खबर संवाददाता

बुधबार, ११ माघ २०७९, २० : ५०
मुलुकभर गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु मुख्य जिम्मेवारी : स्वास्थ्यमन्त्री गिरी

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले मुलुकभर गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु आफ्नो मुख्य जिम्मेवारी भएको बताएका छन्। पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित सातौँ पर्वत महोत्सवको उद्घाटन कार्यक्रममा उनले देशमा अहिले पनि स्वास्थ्य सेवा सीमान्तकृत र गरीब जनतासम्म पुग्न नसकेको उल्लेख गरे।

स्वास्थ्य सेवाको पहुँच विस्तार गरी दूरदराजका नागरिकलाई पनि सर्वसुलभ स्वास्थ्यको पहुँच पुर्याउनुपर्नेमा जोड दिँदै उनले भने, “देशमा अहिले स्वास्थ्य सेवा सीमान्तकृत जनतासँग, गरीब जनतासँग पुग्न सकेको छैन । स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न हामी एकताबद्ध भएर लाग्नुपर्छ ।”

अहिले पनि आर्थिक अभावका कारण उपचार नपाएर धेरै नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था रहेको बताउँदै मन्त्री गिरीले नीतिगत सुधार गरेर त्यस्तो अवस्था न्यूनीकरण गर्ने प्रतिबद्धतासमेत जनाए। उनले भने, “संरचनागत सुधार र व्यवस्थापकीय सुधार गरेर अघि बढ्नेछौँ तर उपचार नपाएर अकालमा मर्नुपर्ने बाध्यता हुनुहुँदैन ।”

सरकारी अस्पतालका ल्याब चाँडै बिग्रिने र बाहिर उपचार गर्न जानुपर्ने बाध्यता रहेको भन्दै मन्त्री गिरीले यस्ता समस्या समाधान गरेर गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिने बताए। उनले बजेट विनियोजित गरेर मन्त्रालय गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा लाग्ने पनि बताए। मन्त्री गिरी स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिको अभावलाई चाँडै परिपूर्ति गर्ने योजना बनाएको पनि बताए।

प्रतिक्रिया दिनुहोस