‘हजार प्लस रोचक वैज्ञानिक तथ्य’ सार्वजनिक

आइतबार, ०२ पुस २०७४, १९ : ३५
‘हजार प्लस रोचक वैज्ञानिक तथ्य’ सार्वजनिक

काठमाडौँ । लेखक ज्ञानमित्रद्वारा लिखित पुस्तक ‘हजार प्लस रोचक वैज्ञानिक तथ्य’ आज यहाँ सार्वजनिक भएको छ ।  युवा नेता अनिल शर्मा, शिक्षासेवी प्रमिला सिंह र छ वर्षको उमेरमा सवारी साधन चलाएर रेकर्ड बनाएका आवश्यक सिंहले उक्त पुस्तक सार्वजनिक गरेका छन् ।

एनके सिंह मेमोरियल इपिएस स्कुलकी प्राचार्य प्रमिला सिंहले मधुमेहदेखि हृदय, पृथ्वीदेखि चट्याङ, आँखादेखि कोषिकासम्मका बारेमा जानकारी दिइएकाले उक्त पुस्तकबाट जोकोहीले विशेष ज्ञान प्राप्त गर्न सक्ने बताए । पुस्तक क्वान्टम बुक हाउसले प्रकाशन गरेको हो ।

सोही स्कुलकी छात्रा स्मृति सिलवालले पुस्तक विज्ञान र वैज्ञानिक विषयमा रुचि राख्ने सबैका लागि उपयोगी भएको बताउँदै पुस्तकमा पृथ्वी र मानव शरीरका विभिन्न विषयमा रोचक जानकारी दिइएको जनाए ।

लेखक ज्ञानमित्रले ‘पपुलर साइन्स’का बारेमा आफ्नो रुचि रहेको र त्यससँग सम्बन्धित केही विषयलाई आफूले विभिन्न स्रोतबाट संकलन गरी प्रस्तुत पुस्तक तयार गरेको जानकारी दिए ।

पत्रकारिता र साहित्यमा अच्युतम् भट्टराईका नामबाट लामो समय काम गरी पछिल्लो समय सन्यासी बनेका ज्ञानमित्र यस प्रकारको बैज्ञानिक प्रकाशनका क्षेत्रमा पनि आएका हुन् ।

प्रतिक्रिया दिनुहोस