क्यान्सर रोगको उपचार नेपालमै गर्ने व्यवस्था हुनुपर्छ: उपराष्ट्रपति पुन

सफल खबर संवाददाता

शनिबार, ३० पुस २०७९, १६ : ५४
क्यान्सर रोगको उपचार नेपालमै गर्ने व्यवस्था हुनुपर्छ: उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा क्यान्सर रोगको रोकथाम र उपचारमा विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन । नेपाल अर्वुद रोग निवारण संघको भक्तपुरको बोडेमा आयोजित ३२ औं केन्द्रीय सभालाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उपराष्ट्रपति पुनले भयावह रोग क्यान्सरका बिरामीलाई स्वदेशमै उपचार गराउन अत्याधुनिक मेशिनसहितको विशेषज्ञ सेवाको विस्तार हुनुपर्नेमा जोड दिए ।

उपराष्ट्रपति पुनले संविधानले प्रत्येक नेपाली नागरिकलाई निस्शुल्क र समान पहुँचको ग्यारेन्टी गरेपनि उपचारको अभावमा गरीब जनताले विभन्न रोगबाट मृत्युवरण गर्नुपरेकोमा दुःख व्यक्त गरे । अहिले विश्वमा मानिसले नयाँ(नयाँ रोगको सामना गर्नु परेको र यस्ता रोगहरुबाट नेपाल पनि अछुतो नरहेको उनले बताए

नेपालमा बर्षेनी ३० हजार भन्दा बढी क्यान्सर रोगबाट पीडित हुने गरेका छन् । क्यान्सर रोगबाट बर्षेनी १७ हजार भन्दा बढी मानिसहरूको मृत्यु हुने गरेको तथ्यांक रहेको छ । उपराष्ट्रपति पुनले नेपाल अर्बुद रोग निवारण सस्थाले अन्तर्राष्ट्रिय स्तरको डायोग्नोष्टिक केन्द्र स्थापना गर्ने योजना सफल भए क्यान्सर रोगको समयमै पहिचान गरी रोगको रोकथाममा सहयोग पुग्ने पनि बताए ।

नेपाल अर्वुद रोग निवारण संघका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले क्यान्सर रोगको रोकथाम र उपचारमा पर्याप्त लगानि हुन नसकेको बताए। उनले क्यान्सर रोगको नियन्त्रण र उपचारमा सरकारसंग सहकार्य र समन्वय गरी अघि बढ्न तयार रहेको बताए । उनले सोही संघले रोकथाम कार्यक्रम अन्तर्गत क्यान्सर सचेतना कार्यक्रम, सुर्ती नियन्त्रण कार्यक्रम, उपत्यकाभित्र र नेपालका दुर्गम क्षेत्रहरुमा क्यान्सर जाँच शिविर जस्ता कार्यक्रम गरिरहेको बताए।

उनले सातै प्रदेशमा क्यान्सर केयर सेन्टर स्थापनामा प्रभावकारी भूमिका खेल्ने लक्ष्य रहेको पनि बताए । संसदमा सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा संकल्प प्रस्ताव प्रस्तुत गरेको स्मरण गर्दै सरकारले यो क्षेत्रमा पर्याप्त गम्भीरता नदेखाएको दावी गरे। संघको केन्द्रीय सभामा ४५ जिल्लाका २ सय बढी प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस