ओली र प्रचण्डले भने- "हामीलाई अध्यक्ष र प्रधानमन्त्रीको लोभ छैन"

आइतबार, ०२ पुस २०७४, १६ : ०६
ओली र प्रचण्डले भने- "हामीलाई अध्यक्ष र प्रधानमन्त्रीको लोभ छैन"

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरु दुवैलाई अध्यक्ष र प्रधानमन्त्रीको लोभ नभएको बताएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

“पार्टी एक बनाउने भनेको मात्रै होइन, निकट भविष्यमा एकता गर्दैछौं नै,” नेकपा एमालेका अध्यक्ष ओलीले पत्रकार सम्मेलनमा भने,“मलाई अध्यक्ष चाहिने भए म छँदैछु । उहाँ (प्रचण्ड) लाई चाहिने भए उहाँ पनि अध्यक्ष नै हुनुुहन्छ । एकता नगरे हामी सग्लासग्लै अध्यक्ष नै छौं । हाम्रो ध्यान देशको समस्या समाधानको ध्यानमा छ ।”

माओवादी केन्द्रका अध्यक्ष दाहाल भने “केपीजीले सबै कुरा बताइरहनुभएको छ, सबैमा मेरो सहमति छ । तर केही कुरा छुटेको छ मैले त्यो थप्न चाहन्छु,” अध्यक्ष त हामी छँदैछौं भनेर उहाँ (केपी ओली) ले भन्नुभयो । त्यो भन्दा बढी प्रधानमन्त्री पनि हामी भै नै सकेका छौं । हामीलाई त्यसको लोभ छैन । हामी सजिलै प्रधानमन्त्री छाडेका मान्छे पनि हौं ।”

प्रतिक्रिया दिनुहोस