मधेस प्रदेश : जसपा संसदीय दलको नेतामा यादव सर्वसम्मत

सफल खबर संवाददाता

सोमबार, २५ पुस २०७९, २१ : ३०
मधेस प्रदेश : जसपा संसदीय दलको नेतामा यादव सर्वसम्मत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत निर्वाचित भएका छन् । मधेस प्रदेश सरकारको प्रमुख दाबेदार मानिएको जसपा प्रदेशसभा संसदीय दलको नेताका लागि उम्मेदवारी दिएका मुख्यमन्त्री लालबाबु राउतले सहमति जनाएपछि यादव सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक लालकिशोर यादवले जानकारी दिए।

यसअघि पटकपटकको छलफलपछि पनि सहमति हुन नसकेपछि निर्वाचन समितिले निर्वाचनको प्रक्रिया सुरु गरिसकेको थियो । आज बिहान ९ देखि ११ बजेसम्म मनोनयन दर्ता गर्ने समयमा मुख्यमन्त्री राउत र प्रदेशसभाका निवर्तमान सभामुख यादवको उम्मेदवारी दर्ता भए पनि अन्त्यमा यादवको नाममा सहमति भएको हो ।

योसँगै सत्ता गठबन्धनमा भएको सहमतिअनुसार यादव मधेस प्रदेशको मुख्यमन्त्री बन्ने करिब पक्का भएको छ । मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको जनाइएको छ । अब मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको नेता चयन गर्न बाँकी छ । प्रदेशको सबैभन्दा ठूलो दल नेकपा (एमाले) ले सरोज यादवलाई र जनमत पार्टीले सांसद महेशप्रसाद यादवलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरिसकेको छ भने प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसले निर्वाचनमार्फत प्रदेश सभापतिसमेत रहेका कृष्ण यादवलाई दलको नेता चयन गरेको छ ।

दश वटा राजीतिक दलको प्रतिनिधित्व रहेको मधेस प्रदेशसभामा एमाले २३, कांग्रेस २२, जसपा १६, जनमत १३, लोसपा नौ, माओवादी केन्द्र आठ, नेकपा (एकीकृत समाजवादी) सात, स्वतन्त्र छ, नेपाल सङ्घीय समाजवादी पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट एकरएक गरी एक सय सात सदस्य रहेका छन् । मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रले यही २८ पुस ४ बजेभित्र सरकार गठनको लागि दललाई आह्वान गरिसेका छन् ।

प्रतिक्रिया दिनुहोस