पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकहरू ब्राजिलको संसदमा गरे प्रवेश

एजेन्सी

सोमबार, २५ पुस २०७९, ०८ : ४५
पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकहरू ब्राजिलको संसदमा गरे प्रवेश

एजेन्सी । दक्षिणपन्थी नेता जायर बोल्सोनारोका हजारौँ समर्थकले आइतबार ब्राजिलको संसदमा आक्रमण गरेका छन्। उनीहरूले सर्वोच्च अदालत र राष्ट्रपति निवासलाई समेत घेरा हालेका छन्।

ब्राजिलको फुटबल टिमको जर्सी लगाएका हजारौँ प्रदर्शनकारी हातमा झण्डा लिएर संसदमा प्रवेश गरेका थिए। केही व्यक्तिहरू स्पिकरको मञ्चमा चढेर प्रदर्शन गरिरहेको पनि देखिए।

केही प्रदर्शनकारीहरू संसदको छतमा चढेर झ्यालका सिसा तोडेका थिए। भीषण झडपपछि प्रहरीले आइतबार साँझसम्म राजधानी ब्रासिलियाका महत्त्वपूर्ण भवनहरू आफ्नो नियन्त्रणमा लिएको थियो। राष्ट्रपति लुला दा सिल्भाले यस आक्रमणको कडा निन्दा गरेका छन्।

ब्राजिलमा आइतवार भएको हिंसापछि जनवरी ६, २०२१ मा अमेरिकी क्यापिटल भवनमा भएको यस्तै झडपको सम्झना जनताको मनमा ताजा भएको छ। त्यसबेला डोनाल्ड ट्रम्पका समर्थकहरूले क्यापिटल भवनमा आक्रमण गरेका थिए।

अमेरिकी राष्ट्रपति जो बाइडेन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायतले हिंसाको निन्दा गरेका छन्। गत हप्ता मात्रै ब्राजिलको राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरेका लुला दा सिल्भाले पूर्वराष्ट्रपतिका समर्थकहरुलाई कडा कारबाही गर्ने वाचा गरेका छन्।

न्यायमन्त्री फ्लाभियो डिनोका अनुसार हालसम्म २०० जनालाई पक्राउ गरिएको छ।बोल्सोनारोले गत वर्ष अक्टोबरमा भएको निर्वाचनको नतिजा स्वीकार गर्न निरन्तर अस्वीकार गर्दै आएका छन्। उनी गत हप्ता लुला दा सिल्भाको सपथ ग्रहण समारोहमा पनि सहभागी भएका थिएनन्।

तर, ६७ वर्षीय बोल्सोनारोले जिम्मेवारीबाट टाढिँदै हिंसाको निन्दा गरेका छन्। बोल्सोनारो हाल अमेरिकामा छन्।

प्रतिक्रिया दिनुहोस