भ्रष्टाचार अन्त्य र सुशासनका लागि गम्भीर छु : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, २४ पुस २०७९, १३ : २९
भ्रष्टाचार अन्त्य र सुशासनका लागि गम्भीर छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार विहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा उनले प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिमा नै केन्द्रित हुने बताए ।

‘जनताले हामीप्रति आशाको नजरले हेरिरहेका छन् । अब केही हुन्छ, नयाँ हुन्छ, सुशासन र समृद्धि हासिल हुन्छ भन्ने आत्मविश्वास र प्रतिवद्धतासहित हामीले काम गर्नुछ । त्यसका लागि यहाँहरूको सहयोग चाहिन्छ’ उनले भने ।

सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रममा पनि सुशासनलाई उच्च प्राथमिकता दिएको भन्दै प्रधानमन्त्रीले सुशासन कायम गर्न सरकार गम्भीर रहेको बताए । ‘भ्रष्टाचार निवारण एउटा मात्र निकायले गर्न सक्दैन । यो समग्र सामाजिक चेतना र संस्कृतिको प्रश्न पनि हो’ प्रचण्डले भने, ‘आम जनताको चेतना र पहलसँग पनि यसको सम्बन्ध रहन्छ । भ्रष्टाचार निवारणमा राज्यको जिम्मेवारी प्रमुख रूपमा रहन्छ । त्यसप्रति म पूरै गम्भीर जिम्मेवार छु ।’

प्रधानमन्त्री प्रचण्डले अख्तियारलाई चाहिने सबै सहयोग गर्न सरकार तयार रहेको पनि बताए । ऐन संशोधन, क्षमता अभिवृद्धि, संरचनागत सुधार लगायतका काममा सरकारले प्रभावकारी भूमिका खेल्ने उनले आश्वासन दिए ।

 

प्रतिक्रिया दिनुहोस