मधेस प्रदेश : प्रदेशसभा सभामुखको निर्वाचन माघ २ गते

सफल खबर संवाददाता

सोमबार, १८ पुस २०७९, १९ : १३
मधेस प्रदेश : प्रदेशसभा सभामुखको निर्वाचन माघ २ गते

महेन्द्रनगर । मधेस प्रदेशसभा सभामुखको निर्वाचन आगामी माघ २ गतेका लागि तोकिएको छ । नवनिर्वाचित प्रदेशसभाको आजको पहिलो बैठकमा सभाअध्यक्ष गोविन्दबहादुर न्यौपानेले आगामी माघ २ गते सभामुखका लागि निर्वाचन हुने जानकारी दिए। उनले पुस २९ गते सभामुखको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न प्रदेशसभा सचिव रञ्जितकुमार यादवलाई निर्देशन दिए।

बैठकले प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ अनुमोदन गर्नुका साथै नियमावलीको नियम ११ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन गरेको प्रदेशसभा सचिव रञ्जितकुमार यादवले जानकारी दिए। मनोनित सदस्यहरुमा सांसदहरु रेखा ठाकुर, बच्चा राउत अहिर, चन्दनकुमार सिंह, जितेन्द्रप्रसाद सोनार, फकिरा महतो र रत्नेश्वर गोइत रहेका छन्।

सभालाई प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत, पूर्वसभामुख सरोजकुमार यादव र अधिवेशन प्रारम्भ भएको अवसरमा विभिन्न दलका १४ जना प्रदेशसभा सदस्यले मन्तव्य व्यक्त गरेका थिए। त्यस अवसरमा मुख्यमन्त्री लालबाबु राउतले संविधानको कार्यान्वयन र सङ्घीयताको संस्थागत विकासका लागि सत्तापक्ष र प्रतिपक्ष नभनी सबै एकजुट हुनुपर्ने बताए। उनले सङ्घीयतालाई बोझको रुपमा चित्रित गर्दै यसलाई बोक्न सकिन्न भन्नेहरुका विरुद्ध मधेस प्रदेशका सबै दलले एकताबद्ध भएर जवाफ दिनुपर्ने धारणा राखे।

पूर्वसभामुख यादवले अघिल्लो प्रदेशसभाको अन्तिम अधिवेशन हतारमा अन्त्य गरेकाले आफूले धन्यवादसम्म भन्न नपाएको गुनासो गर्दै आगामी दिनमा दलहरुको सहमतिमा मात्रै अधिवेशनको आह्वान र अन्त्य हुनुपर्ने बताए। उनले अघिल्लो सरकारले जनताको पक्षमा गर्न नसकेका काम आगामी सरकारले पूरा गर्ने विश्वास व्यक्त गरे।

सभामा मन्तव्य राख्नुहुने अधिकांश सांसदहरुले सङ्घीयता, लोकतन्त्र र संविधानको रक्षा गर्दै मधेश प्रदेशका आवश्यकता पूर्ति र विद्यमान समस्याको समाधान गर्न पार्टीभन्दा माथि उठेर सहकार्य गर्नुपर्ने धारणा राखेका थिए। सभामा प्रदेशसभा सदस्य राजकुमार लेखी, कृष्णप्रसाद यादव, राजकुमार गुप्ता, वसन्तप्रसाद कुशवाह, जितेन्द्रप्रसाद सोनार, युवराज भट्टराई, बेची लुङ्गेली, कञ्चन बिच्छा, बिमला अन्सारी तरन्नुम, उर्मिलादेवी सिंह, अनिरुद्धकुमार सिंह, केशव राय, प्रमोदकुमार जयसवाल, र सुनिताकुमारी साहले सम्बोधन गरेका थिए । प्रदेशसभाको अर्को बैठक आगामी माघ २ गते बस्ने छ ।

प्रतिक्रिया दिनुहोस