सत्ता गठबन्धनको बैठक बस्दै

सफल खबर संवाददाता

विहीबार, १४ पुस २०७९, ०७ : ५०
सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । शक्ति बाँडफाँड र सरकारको साझा रणनीतिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो बस्ने सातदलीय गठबन्धनको बैठकले उपराष्ट्रपति, उपसभामुख, मन्त्री तथा प्रदेश सरकारलगायत बाँकी पद बाँडफाँडको विषयमा छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तीन दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भए पनि अरु पदको भागबन्डा टुंगिएको छैन। राष्ट्रपति र उपराष्ट्रपति भने क्रमशः एमाले र माओवादी केन्द्रले लिने अनौपचारिक सहमति छ ।

यस्तै सातवटा सरकार र प्रदेश प्रमुखको समेत टुंगो लगाउन बाँकी छ। चारवटा प्रदेशको नेतृत्व एमालेले लिने र दुईवटा माओवादी केन्द्रले तथा मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो नेतृत्व गर्ने विषयमा छलफल चलिरहेको छ। पुस २५ गते संसद बैठक बस्नुअघि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस