धनगढी । सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सरकार गठनका लागि नेकपा एमाले नेतृत्वको गठबन्धनलाई बहुमत पुग्ने भएको छ । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी एमाले नेतृत्वको गठबन्धनमा मिसिएपछि यहाँ पनि १९ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने अवस्था सिर्जना भएको हो ।
सरकार बनाउन २७ जनाको समर्थन चाहिनेमा नेकपा माओवादी केन्द्र(११), नेकपा एमाले (१०), नागरिक उन्मुक्ति पार्टी(७) र राप्रपा(१) गरेर २९ सिटसहित नयाँ गठबन्धन सरकार बन्ने भएको हो । अब यहाँ नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलको हैसियतमा बस्नेछ भने नेकपा (एकीकृत समाजवादी) पनि प्रतिपक्षीमा पुगेको छ ।
नेकपा एमाले सुदूरपश्चिमका सचिव तथा प्रदेशसभा सदस्य धर्मराज पाठकले शीर्ष तहका नेताहरुबीच हुने समझदारीका आधारमा प्रदेश सरकारको नेतृत्व कुन पार्टीले गर्ने भन्ने कुराको टुंगो लाग्ने बताए । पाठकले संघीय सरकारमा शक्ति बाँडफाँट भएपछि प्रदेश सरकार गठनका विषयमा छलफल अघि बढ्ने बताए ।
नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले पनि प्रदेश सरकारको नेतृत्व र मन्त्रालयको बाँडफाँट सबै दलहरुबीचको सहमतिका आधारमा हुने बताए । पण्डितले अहिले संघीय सरकार गठनको प्रक्रिया अघि बढेकाले छिट्टै प्रदेश सरकार गठनका सम्बन्धमा छलफल हुने उनको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशमा यसअघि पाँच वर्ष माओवादी केन्द्रले सरकारको नेतृत्व गरिसकेकाले भागबण्डामा क्रममा एमालेले मुख्यमन्त्री पाउन सक्ने आकलन गरिएको छ । तर कांग्रेससँगको गठबन्धनका क्रममा मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्दै आएको माओवादीले पनि सहजै नेतृत्व एमालेलाई छाड्ने सम्भावना नरहेको नेताहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० पुस २०७९, ०४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्थिक सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो
उत्तराखण्डका तीन विभागीयमन्त्रीसँग सुदूरपश्चिमका मुख्यमन्त्रीको भेटवार्ता
सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा
सुदूरपश्चिम पृतनाबाट सुरु भयो भूपू सैनिक सम्मेलन
पञ्चेश्वर अगाडि बढ्छ, गेटामा मेडिकल विश्वविद्यालय बन्छ : प्रधानमन्त्री ओली
सुदूरपश्चिम प्रदेश सभामा प्रज्ञा-प्रतिष्ठानको विधेयक पारित