सत्ता गठबन्धनको निर्णायक बैठक आज

सफल खबर संवाददाता

आइतबार, १० पुस २०७९, ०८ : ०४
सत्ता गठबन्धनको निर्णायक बैठक आज

काठमाडौं । नयाँ सरकार निर्माणमा भागबण्डाको सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आइतबार बस्दैछ ।

नेताहरुले आजको बैठकलाई ‘निर्णायक’ भनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा साँझ ५ बजे सकिन लागेकाले सो अघि नै सहमति जुटाउन पहल हुने गठबन्धनका नेताहरुको भनाइ छ । 

यसअघि शनिबार साँझ बसेको सत्ता गठबन्धनको बैठक आइतबार बिहान फेरि बस्ने गरी सकिएको थियो । प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आ–आफ्नो दाबी नछाडेपछि निरन्तरका बैठकहरु निष्कर्षविहीन बन्दै आएका छन् । 

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री को हुने भन्ने कुराले सहमतिमा हलो नअड्किने जिकिर गरेका छन् । ‘अहिलेको सन्दर्भमा प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण विषय हो । यसमा हलो अड्किन्न । मुलुकलाई अहिलेको जनताको आकाङ्क्षाअनुसार कसरी अगाडि बढाउने भन्ने कुरा हो । गठबन्धनकै नेतृत्वमा सरकार बन्छ’, सञ्चारमन्त्री कार्कीले भने ।