माघे सङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्ने चटारो

सफल खबर संवाददाता

मंगलबार, ०५ पुस २०७९, १० : २५
माघे सङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्ने चटारो

सर्लाही । सर्लाहीका विभिन्न क्षेत्रका किसानलाई माघे सङ्क्रान्ति नजिकिएसँगै तरुल खन्ने चटारो बढेको छ । जिल्लाको शङ्करपुर, राजघाट, हजरिया, बरहथवा, जिरायत, कर्मैया हजरियालगायतका क्षेत्रमा व्यावसायिकरूपमा तरुल खेती हुनेगरेको छ । माघे सङ्क्रान्ति नजिकिएसँगै उनीहरुलाई सो चटारो बढेको हो । ती क्षेत्रका किसानले तरुल बिक्रीबाट बर्सेनि मनग्य आम्दानी गर्दैआएका छन् ।

बागमती नगरपालिका–५ राजघाट टेकानीका जगतबहादुर खुलाल मगरले यस वर्ष करिब एक बिघा क्षेत्रफलमा तरुल खेती लगाएका छन् । उनले गत वर्ष करिब रु तीन लाख ५० हजारको तरुल बिक्री गरेका थिए । अन्य खेतीको तुलनामा तरुल खेतीमा मेहेनत र खर्च कम फाइदा बढी हुने भएकाले १५ वर्षदेखि खेती गर्दै आएको उनले बताए । यस वर्ष खेतबाटै व्यापारीले प्रतिकिलो रु एक सय १० मा तरुल खरिद गरेको बागमती–६ का किसान यमकुमार मगरले बताए ।

उनका अनुसार तरुल लिन व्यापारी किसानका खेतमै पुगेका छन् । लामो समयदेखि तरुल खेती गर्दै आएका यामकुमारले यस वर्ष करिब १६ कट्ठा जमिनमा तरुल खेती गरेका छन् ।  उनले व्यापारीलाई प्रतिकिलो रु एक सय १० का दरले खेतैमा र काठमाडौँ लगेर प्रतिकिलो रु दुई सय २० मा तरुल बेचेका छन् । खर्च कटाएर कट्ठाको रु करिब एक लाख आम्दानी भएको उनले बताए । तरुल खेतीबाट भएको आम्दानीले छोराछोरी पढाउने र घरव्यवहार चलाउन पुगेको उनको भनाइ छ ।

यहाँको तरुल स्वादिलो हुने भएकाले काठमाडौँलगायत देशका मुख्य ठूला शहरबाट अत्यधिक माग आइरहेको बागमती–८ का व्यापारी नुनुबाबु पण्डितले जानकारी दिए । यस क्षेत्रका किसानले पताले, झुसे, जाँते र रातो तरुल धेरै मात्रामा लगाउने गरेका छन् । तरुल खेती गर्न बलौटे तथा दोमट माटो उपयुक्त हुने किसानको भनाइ छ । बीउ, खनजोत, मलखाद र गोडमेलसमेत गरेर प्रतिकट्ठा करिब रु छ हजार लगानी हुने अर्का किसान रामबहादुर मगरले बताए । 

उनका अनुसार राम्रो उत्पादन हुँदा तरुल प्रतिकट्ठा करिब आठ क्विन्टलसम्म उत्पादन हुनेगरेको छ । जिल्लामा मात्र यस वर्ष करिब तीन सय हेक्टर क्षेत्रफलमा तरुल खेती भएको कृषि ज्ञान केन्द्र मलङ्गवाका प्रमुख कमलदेवप्रसाद कुशवाहले बताए । उनका अनुसार समय तथा मेहेनत पनि कम लाग्ने र सिँचाइ नभए पनि तरुल खेती राम्रो हुने भएकाले जिल्लाका किसान तरुल खेतीतर्फ बढी आकर्षित हुनेगरेका छन् ।

प्रतिक्रिया दिनुहोस