संघियता नाम मात्रैमा सिमित : मुख्यमन्त्री पाण्डे

सफल खबर संवाददाता

सोमबार, ०४ पुस २०७९, १५ : ०३
संघियता नाम मात्रैमा सिमित : मुख्यमन्त्री पाण्डे

काठमाडौं । बागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संघियता अहिलेसम्म पनि नाम मात्रैमा सिमित भएको बताएका छन ।सोमबार नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले एक वर्ष १७ दिन वागमती प्रदेशको मुख्यमन्त्री भएर काम गर्दाको अनुभवले संघियता नाम मात्रैको भइरहेको बताएका हुन ।

उनले संघियताको व्यवस्था गरेपनि स्रोत परिचालन,अधिकार र जनशक्ति व्यवस्थापनको अधिकार दिने विषयमा केन्द्र सरकार इमान्दार नभएको बताए। उनले केन्द्र सरकारले संविधानमा प्रदेश सरकारलाई दिएको अधिकारसमेत दिन नखोजेको आरोप लगाए ।

उनले पाँच वर्षसम्म केन्द्र सरकारले संघिय निजामति कर्मचारी ऐन जारी गर्न नसकेको तर प्रदेश सरकारले गरेर देखाएको बताए । मुख्यमन्त्री पाण्डेले राजनीतिक नेतृत्वले स्थानीय तहलाई स्थानीय सरकारको मान्यता दिने पक्षमा नरहेको बताए। उनले स्थानीय सरकार संघ र प्रदेश सरकार भन्दा नजिकको सरकार भएकाले जनताको साथी भएर सेवा गर्न आग्रह गरे ।

उनले स्थानीय सरकार देशको व्यवस्थाको पिलर भएको भन्दै कमजोर बन्न दिन नहुने बताए । मुख्यमन्त्री पाण्डेले २०७९ साल वैशाखमा निर्वाचित भएका जनप्रतिनिधिहरुले संघियताको अभ्यासलाई ठिक ढङ्गमा सञ्चालन गर्न सके मात्रै अहिलेको व्यवस्थाका विरुद्धमा हुने जालझेल षड्यन्त्रहरु कमजोर हुँदै जाने बताए ।

मुख्यमन्त्री पाण्डेले संघियताको अभ्यासलाई सही रुपमा गर्न नसके आफैंले ल्याएको व्यवस्थाले आफैंलाई खानसक्ने बताए । उनले केन्द्र सरकारले ७६ प्रतिशत बजेट परिचालन गर्ने तर २४ प्रतिशतमा प्रदेश र स्थानीय सरकारले परिचालन गर्दा कति स्रोत परिचालन गरेर काम गर्न सकिन्छ भन्ने विषयमा केन्द्र सरकारले बुझ्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस