गृहमन्त्रीलाई भेटेर ‘प्रकाण्ड’ले आफ्ना नेता–कार्यकर्ता रिहाइका लागि दिए दबाब

सफल खबर संवाददाता

मंगलबार, २० मंसिर २०७९, १४ : ४१
गृहमन्त्रीलाई भेटेर ‘प्रकाण्ड’ले आफ्ना नेता–कार्यकर्ता रिहाइका लागि दिए दबाब

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाई गर्न सरकारलाई दबाब दिएको छ ।

मंगलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणसँग भेटगरी नेकपाका प्रवक्ता खडग्बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले यस्तो दबाब दिएका हुन् । मुलुक निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला नेकपाले भने यही सरकारले आफूहरुको माग सम्बोधन गर्नुपर्ने जिकीर गरेको छ ।

वर्तमान सरकारले कानुनी जटिलता पनि हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने र जेलबाट रिहाई गर्ने निर्णय मन्त्रीपरिषद्बाट गरिसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकारलाई दवाव दिइएको नेकपाका प्रवक्ता प्रकाण्डले बताए ।

यता, गृहमन्त्री खाँणले पनि सो समस्या समाधान गर्न सरकार इमान्दार र प्रतिबद्ध रहेको बताए ।गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले भने, ‘सरकार र हामीबीच भएको सहमतिअनुसार नै छिटोभन्दा छिटो यसलाई रिजल्टमा उर्तानुस् र हामीलाई रिजल्ट दिनुस्, जनतालाई रिजल्ट दिनुस् भनेर हामीले आज भनेका छौं । र, सरकारले के भनेको छ भने हामी यसप्रति इमान्दार र प्रतिबद्ध छौं । यसलाई पूरा गर्ने सन्दर्भमा फेरी पनि हामी लाग्छौं । र, लागिरहेका छौं भन्ने सरकारको जवाफ छ ।’

आफ्ना मागप्रति सरकार सकारात्मक ढंगले नै प्रस्तुत भएको उनले बताए । केपी ओली नेतृत्वको अघिल्लो सरकारसँग तीन बूँदे सहमति गरेर नेकपा शान्ति प्रक्रियामा आएको थियो । तर सो सहमति अझै कार्यान्वयनमा नआएको भन्दै उक्त पार्टीले असन्तुष्टि जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस