विद्युत प्राधिकरणले सुदुरपश्चिममा विद्युत विस्तार गर्ने

सफल खबर संवाददाता

मंगलबार, २० मंसिर २०७९, १२ : ५१
विद्युत प्राधिकरणले सुदुरपश्चिममा विद्युत विस्तार गर्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत् खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणाली सञ्जाल विस्तार गर्ने भएको छ ।

प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल सञ्चालनमा रहेका प्रसारण र वितरण प्रणालीका संरचनाको सुदृढीकरण र विस्तार गर्ने भएको हो । दीर्घकालीन समस्या समाधान गर्न उच्च क्षमताका प्रसारण लाइनको निर्माण गरिने छ । गर्मीको समयमा कैलालीको अत्तरिया, टीकापुर धनगढी, कञ्चनपुरको महेन्द्रनगरलगायत सहरी क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङलगायतको समस्या रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत सम्मिलित टोलीले स्थलगत अनुगमन समेत गरी सकेको छ ।

घिसिङले कैलाली र कञ्चनपुर क्षेत्रको विद्युत् आपूर्तिको समस्यालाई समाधान गर्न तत्काल र दीर्घकालीन रुपमा गर्नु पर्ने कामका लागि टोली बनाएर अध्ययन भइरहेको जानकारी दिए। कञ्चनपुरको पुनर्बास र बेलौरीलाई पनि एक सय ३२ केभी लाइनबाट जोड्ने र सो लाइन केन्द्रमा आएपछि भोल्टेज, ट्रिपिङलगायतका समस्या नहुने घिसिङको भनाई छ ।

कालीगण्डकीको बिजुली लामो प्रसारण लाइनबाट यस क्षेत्रमा आपूर्तिका लागि ल्याउनुपर्ने बाध्यात्मक अवस्थाका कारण पनि समस्या आएको हो ।

प्रतिक्रिया दिनुहोस