सिन्धुपाल्चोकमा एकल पुरुषलाई भत्ता

सफल खबर संवाददाता

शनिबार, १७ मंसिर २०७९, ०८ : ४६
सिन्धुपाल्चोकमा एकल पुरुषलाई भत्ता

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ।

इन्द्रावती गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक रु पाँच सय भत्ता दिने भएको छ। गाउँपालिकाको आव २०७९-८० को नीति तथा कार्यक्रम समावेश गरी एकल पुरुषलाई भत्ता दिन सुरू गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए। शर्माका अनुसार एकल पुरुष दर्ताका लागि सूचना जारी गरिसकिएको छ।

हेलम्बु गाउँपालिकाको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले एकल महिलासँगै पुरुषको अवस्था दुःख लाग्दो देखिएपछि पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको बताए। हेलम्बु गाउँपालिकाले एकजनालाई रु पाँच सय दिने व्यवस्था गरेको छ।

विदेश जाने महिला बढे

अक्षर नचिनेका र राम्रोसँग नेपाली बोल्नसमेत नजान्ने एउटै गाउँका सयभन्दा बढी महिला कामका लागि खाडीमुलुक गएका छन्। गाउँमा आम्दानीको स्रोत नभएको भन्दै तामाङको बाहुल्यता रहेको सिन्धुपाल्चोकको विकट क्षेत्र पाँचपोखरी थाङपाल गाउँपालिका-८ भोटेनाम्लाङका महिला रोजगारीका लागि खाडीमुलुक गएका छन् ।

स्थानीय लक्ष्मण तामाङका अनुसार प्रायः यहाँका महिला लेवनान गएका छन्। । यहाँका १४र१५ वर्षका किशोरी पनि पैसा कमाउन खाडीमुलुक गएका छन्। केही त आधारभूत तहको शिक्षा पूरा गरी विदेश गएको उनले बताए।

स्थानीय रुक्मणी गुरुङका अनुसार यहाँका महिला घरको काम गर्ने भन्दै लेवनान, कुवेत, साउदीअरब, बहराइनलगायतका मुलुक जाने गरेका छन्। महिला मात्र होइन गाउँमा विदेशिने पुरुषको सङ्ख्या पनि बढी छ। गाउँमा आम्दानीको स्रोत नहुँदा र खान पुग्ने गरी उब्जाउ जमिन नहुँदा आफ्ना मानिसले विदेशिनुपरेको गाउँलेको दुःखेसो छ।

प्रतिक्रिया दिनुहोस