कर्णाली प्रदेशमा १६ प्रतिशत बदर

सफल खबर संवाददाता

सोमबार, १२ मंसिर २०७९, १५ : २४
कर्णाली प्रदेशमा १६ प्रतिशत बदर

सुर्खेत । गत ४ मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कर्णालीका विभिन्न जिल्लामा भएको मत बदर संख्या करिब १६ प्रतिशतसम्म रहेको पाइएको छ । 

सल्यानमा १३ हजार ६ सय १४ मत बदर भएको छ । ८३ हजार ७०४ मत खसेको सल्यानमा १६ प्रतिशत म तबदर भएको छ । निर्वाचन कार्यालयहरूले दिएको प्रारम्भिक तथ्यांकअनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मात्रै आठ हजार ३१८ मत बदर भएको छ ।

डोल्पामा करिब दुई हजार मत बदर भएको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा एक लाख ५४ हजार ८११ मत खसेकोमा आठ हजार तीन सयभन्दा धेरै मत बदर भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए । यो करिब ५.३७ प्रतिशत हुन आउँछ । पाँच वर्षअघिको निर्वाचनको तुलनामा बदर मतको दर घटे पनि कर्णालीमा मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ ।   

निर्वाचन कार्यालय डोल्पाका अनुसार १७ हजार ८३७ मत खसेकोमा एक हजार ९९९ मत बदर भएको छ, जुन ११ प्रतिशभन्दा धेरै मत बदर हो ।

जाजरकोटमा ११ प्रतिशत मत बदर भएको निवार्चन कार्यालयले जनाएको छ । जाजरकोटमा प्रत्यक मतदान केन्द्रमा ४ देखि ११ प्रतिशत मत बदर भएको पाइएको निर्वाचन कार्यालय जाजरकोटका निमित प्रमुख नवीन कठायतले कर्णाली रैबारलाई जानकारी दिए ।

खासगरी मतदातामा शिक्षाको कमी, राजनीतिक दलहरूले निर्वाचन तालमेल गरे पनि मतदातालाई भोट हाल्ने तरिका सिकाउन बेवास्ता गर्नु र मतदाता शिक्षा कार्यक्रम सबै टोल बस्तीमा पुग्न नसकेकैले मत बदर भएको सरोकारवालाहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस