काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित विद्युत आन्तरिक रुपमै खपत बढाउन मधेस प्रदेशका जिल्लाहरूमा करिब ४ हजार मेगावाट विद्युत खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ । प्राधिकरणले सन् २०५० भित्रमा मधेस प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषा लगायतका जिल्लाका दक्षिणी भेगमा हुने मानवबस्ती र औद्योगिक क्षेत्र विस्तारलाई ध्यान दिएर उच्च क्षमताको प्रसारण लाइन करिडोर निर्माण गर्न लागेको हो ।
भारतसँगको दक्षिणी सीमास्थित हुलाकी राजमार्गको समानान्तर ४०० केभीको चार सर्किट प्रसारण लाइन र सबस्टेसनहरु निर्माण गरिने छन् । चार सर्किटमध्ये प्रारम्भिक चरणमा माथिल्लो दुई सर्किट ४०० केभी र तल्लो दुई सर्किट १३२ केभीमा सञ्चालन ल्याउने गरी प्रसारण लाइन करिडोरको निर्माण गरिनेछ । स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ठाउँ–ठाउँमा सबस्टेसनहरुको निर्माण गरिनेछ । अहिले प्रस्तावित प्रसारण लाइनको रुट र सबस्टेसनहरु रहने स्थान तय गर्ने कामहरू भइरहेको छ ।
बारा पर्सा औद्योगिक करिडोर अन्तर्गत वीरगञ्ज क्षेत्रमा करिब ३२०० र जनकपुर क्षेत्रमा ८०० मेगावाट विद्युत खपत गर्ने गरी प्रसारण सञ्जाल पूर्वाधार निर्माण गरिने छन् । यसबाट शहर र औद्योगिक क्षेत्र विस्तारको प्रचुर सम्भावना रहेको मधेस प्रदेशका जिल्लाहरूमा पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति हुनेछ । प्रसारण लाइन तथा सबस्टेसनहरु निर्माणका लागि ५० अर्ब रूपैयाँभन्दा बढी लाग्नेछ । यो रकम नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी, भारतीय एक्जिम बैंक, एसियाली विकास बैंकलगायतको सहुलितपूर्ण ऋणबाट जुटाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, परामर्शदाता लगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार प्रस्तावित लाइन निर्माण स्थलको स्थलगत अनुगमन भ्रमण गरी ४०० र १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि सम्भावित ठाउँ, विद्युत माग तथा खपतको अवस्था लगायतका विषयमा जानकारी लिएको छ ।
कार्यकारी निर्देशक घिसिङले आन्तरिक रुपमा खपत बढाउन र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतर्फ निर्यातका लागि दक्षिण करिडोर प्रसारण लाइन चरणबद्ध रुपमा निर्माण गर्न लागिएको बताए । ‘पहिलो फेजमा खपत बृद्धिका लागि तत्काल आवश्यक पर्ने प्रसारण लाइन र सबस्टेसनहरु, दोस्रो फेजमा दक्षिण करिडोर मुख्य लाइन र तेस्रो चरणमा अन्तरदेशीय विद्युत व्यापारका लागि क्रसबोर्डर प्रसारण लाइन निर्माण गरिने छन्’, उनले भने ।
बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगहरूलाई लक्षित गरी पर्साको पोखरिया र बाराको निजगढमा ४०० केभीको सबस्टेसन निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको छ । त्यही ४०० केभी लाइनलाई हुलाकी राजमार्गको समानान्तर रुपमा जनकपुरतिर विस्तार गरिने छ । बाराका प्रसौनीमा १३२ केभी सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणको गरिएको छ ।
जनकपुर क्षेत्रको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन धनुषाको ढल्केबरबाट महोत्तरीको लोहरपट्टीसम्मका् १३२ केभी सबस्टेसनको निर्माण भइरहेको छ । लोहरपट्टीमा १३२ केभी सबस्टेसन निर्माणाधीन छ । यसैगरी ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन पनि निर्माणाधीन छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ मंसिर २०७९, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत प्राधिकरणले काट्यो थप दुई ठुला उद्योगको बिजुली
बक्यौता महसुल उठाउन लाइन काट्दै विद्युत प्राधिकरण
विद्युत प्राधिकरणलाई बाह्रबिसे सबस्टेसनको तत्काल निर्माण सक्नु पर्ने दबाब
विद्युत प्राधिकरणका पूर्व मेकानिकल इन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा
विद्युत प्राधिकरणले थाल्यो चालु खर्चहरुमा कटौती
विद्युत प्राधिकरणले पायो अत्याधुनिक प्रविधियुक्त ट्रान्सफर्मर