बागलुङका चारवटै प्रदेशमा कांग्रेसको क्लीन स्वीप

सफल खबर संवाददाता

बुधबार, ०७ मंसिर २०७९, ०९ : ३३
बागलुङका चारवटै प्रदेशमा कांग्रेसको क्लीन स्वीप

बागलुङ । बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ ।

बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हीराबहादुर केसीलाई एक हजार चार सय ७९ मतान्तरले पराजित गरे । थापाले १३ हजार आठ सय ८४ मत ल्याउनुभएको छ भने केसीले १२ हजार चार सय पाँच मत ल्याए ।

बागलुङ–१ (२) मा कांग्रेसका डिल्लीराम सुवेदी विजयी भए । सुवेदीले एमालेका नवराज पौडेललाई छ हजार ७५ मतान्तरले पराजित गरे । सुवेदीले १३ हजार तीन सय २७ ल्याउँदा पौडेलले सात हजार दुई सय ५२ मत ल्याए । पौडेल स्थानीय तहको निर्वाचनमा कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । उनी कांग्रेस बागलुङको निवर्तमान सचिवसमेत थिए ।

बागलुङ–२ (१) मा कांग्रेस बागलुङका अध्यक्ष जितबहादुर शेरचन विजयी भएका छन् । शेरचनले एमालेका साथ पाएका स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरलाई तीन हजार एक सय  मतान्तरले पराजित गरे । शेरचनले १५ हजार एक सय आठ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गरे । 

घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेत बनेका थिए । बागलुङ–२ (२) मा कांग्रेसकै दोर्णकुमार कुँवर विजयी भएका छन्। कुँवरले एमालेका लक्ष्मण पुनलाई तीन हजार सात सय ३७ मतान्तरले पराजित गरे । कुँवरले १२ हजार चार सय आठ मत ल्याउँदा पुनले आठ हजार छ सय ७१ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस