आर्थिक विकासको एजेण्डालाई अघि सार्ने नेतृत्व आवश्यक छ : चन्द्र ढकाल

सफल खबर संवाददाता

आइतबार, ०४ मंसिर २०७९, १२ : ५९
आर्थिक विकासको एजेण्डालाई अघि सार्ने नेतृत्व आवश्यक छ : चन्द्र ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व चयन गर्न आग्रह गरेका छन।

वरिष्ठ उपाध्यक्ष ढकालले आईतवार बिहान काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका थिए। मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालको आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व चुन्नुपर्ने बताए। उनले निर्वाचन देशको भविष्य निर्माणको पहिलो भएकाले उम्मेदवार चयनमा नचुक्न आग्रह गरे ।

उनले भने, ‘निर्वाचन देशको भविष्य निर्माणको पहिलो स्टेप हो । आफ्नो मताधिकारको प्रयोग गरेर नेपालको भविष्य निर्माण गर्नको लागि सही व्यक्ति निर्वाचित गरेर पठाउनुस् । नेपालको आर्थिक विकासमा, आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व आवश्यक छ ।’

ढकालसँगै अन्य उद्योगी व्यवसायहरुले उत्साहजनक रुपमा आ–आफ्नो मतदान केन्द्र पुगेर भोट खसालेका छन् । आईतवार बिहान ७ बजेबाट देशभर एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि निर्वाचन भइरहेको छ । साँझ ५ बजेसम्म मतदान गर्न सकिने आयोगले जनाएको छ ।